नेपालगञ्ज : किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेशन तथा आत्महत्याको जोखिम बढ्दै गइरहेको अवस्थामा मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताइएको छ ।
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी काठमाण्डौले आज नेपालगञ्जमा आयोजना गरेको æकिशोर–किशोरी मानसिक स्वास्थ्यमा जिम्मेवार सञ्चारका लागि पत्रकार अन्तरक्रिया कार्यक्रमÆ मा प्रस्तुति दिँदै जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले युवामा मानसिक स्वास्थ्य समस्या बढ्दो चुनौतीका रूपमा देखिएको बताइन् ।
उनले प्रस्तुत गरेको तथ्यांक अनुसार विश्वभर करिब ६.२ प्रतिशत किशोरकिशोरी मानसिक असन्तुलनको समस्याबाट प्रभावित छन् भने २.८ प्रतिशतमा तनावको अवस्था रहेको छ । त्यस्तै ११.२ प्रतिशत बालबालिकामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या देखिने गरेको उनले जानकारी दिइन् ।
संस्थाकी कार्यकारी निर्देशकसमेत रहेकी डा. उप्रेतीले नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक रहेको उल्लेख गर्दै आत्महत्या अहिले प्रमुख सार्वजनिक स्वास्थ्य समस्यामध्ये एक बनेको बताइन् । मानसिक स्वास्थ्यलाई अझै पनि गलत बुझाइ, डर र सामाजिक कलंकका रूपमा लिने प्रवृत्ति कायम रहेकाले समस्या थप जटिल बन्दै गएको उनको भनाइ छ ।
अन्तरक्रिया कार्यक्रममा संस्थाकी सचिव एवं मनोपरामर्शकर्ता सुदिपा ढुंगानाले किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्यालाई समयमै पहिचान गरी उचित सहयोग र परामर्श प्रदान गर्नुपर्नेमा जोड दिइन् । उनले मानसिक स्वास्थ्यसम्बन्धी विषयलाई लुकाउने वा कलंकका रूपमा हेर्ने प्रवृत्तिले समस्या थप जटिल बनाउने बताउँदै परिवार, विद्यालय, समुदाय र सञ्चारमाध्यमले सचेतना अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिन् ।
कार्यक्रममा सञ्चारमाध्यमले किशोरकिशोरीमा मानसिक स्वास्थ्यसम्बन्धी सूचना तथा शिक्षा प्रवाह गर्न, सही जानकारी फैलाउन र सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण योगदान दिन सक्ने विषयमा जोड दिइएको छ । सहभागी पत्रकारहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषण गर्दा संवेदनशील, तथ्यपरक र जिम्मेवार बन्न आग्रह गरिएको छ । कार्यक्रममा करिब दुई दर्जन पत्रकारहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले किशोरकिशोरीको मानसिक स्वास्थ्य, बालविवाह, बालश्रम, असुरक्षित बसाइँसराइ तथा मानव बेचबिखन न्यूनीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार