Listen LIVE

बर्दिया अस्पतालमा मेजर शल्यक्रिया सफलतापूर्वक सम्पन्न

बर्दिया : बर्दिया जिल्ला अस्पतालमा एकैदिन १४ जना बिरामीको मेजर शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।

पाठेघरसम्बन्धी समस्या भएका बिरामीको विशेषज्ञ चिकित्सकसहितको १६ जनाको टोलीले बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म करिव १० घण्टा लगाएर १४ जना बिरामीको सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका प्रमुख डा.सुभाष पाण्डेले बताए ।

उनले पाठेघर खसेका र पाठेघरमा मासु पलाएका १४ जना पीडित बिरामीहरुको विशेषज्ञ चिकित्सकको टोलिले सफलतापूर्वक शल्यक्रिया गरेको बताए ।

सीमित स्रोत साधनका बाबजुद एकैदिन १४ जनाको मेजर शल्यक्रिया गरिएको यो अस्पतालमा पहिलो रेकर्ड भएको पनि प्रमुख पाण्डेले बताए ।

गुलरिया नगरपालिकाका नौ जना र बारबर्दिया, ठाकुरबाबा तथा राजापुर नगरपालिका एवम् बढैयाताल गाउँपालिकाका एक–एक जना र कैलाली लम्कीचुहाकी एक बिरामीले निःशुल्क शल्यक्रिया सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार १३ जनाको पूर्णरुपमा निःशुल्क र एक जनाको न्यूनतम शुल्क लिएर शल्यक्रिया गरिएको हो ।

शल्यक्रिया सेवा लिएका बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै अस्पताल प्रमुख डा. पाण्डेले दुई तीन दिनमा डिस्चार्ज गर्ने तयारी गरिएको बताए । उनले अस्पतालसँग पर्याप्त जनशक्ति नहुँदा कोहलपुरबाट थप विशेषज्ञ चिकित्सक झिकाएर सेवा प्रदान गरिएको बताए ।

१४ जनाको मेजर शल्यक्रियामा कोहलपुरबाट वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.कविता पाण्डे, स्त्रीरोग विशेषज्ञ डा.होमनाथ अधिकारी र बर्दिया अस्पतालका वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. दिपेन्द्र महासेठलगायत चिकित्सक, नर्सिङ तथा स्वास्थ्यकर्मी टोली खटिएको थियो ।

आफ्नै गाउँठाउँमा निःशुल्क शल्यक्रिया सेवा पाएपछि बिरामीहरु खुसी भएका थिए । गुलरिया नगरपालिका–९ की पेपली गोडियाले अस्पतालले निःशुल्करुपमा शल्यक्रिया सेवा दिएको भन्दै खुशी व्यक्त गरिन् । उनले अस्पतालमा उपलब्ध औषधी पनि निःशुल्क पाएको बताइन् ।

पाठेघरसम्बन्धी समस्याको निजि अस्पतालमा गएर शल्यक्रिया गराउँदा बिरामीले कम्तीमा ५० हजार रुपैयाँ तिर्नुपर्ने अवस्थामा आफ्नै ठाउँको अस्पतालमा यस्तो जटिल समस्याको निःशुल्करुपमा उपचार पाउँदा खुशी लागेको शल्यक्रिया गराएका अधिकांशको प्रतिक्रिया थियो ।

प्रतिक्रिया