Listen LIVE

बैतडीमा बाघको आतङ्क बढ्दो, स्थानीय त्रसित

बैतडी : बैतडीको मेलौली नगरपालिका–८, कोटिगाउँमा जङ्गली बाघको आतङ्क बढ्दै गएको छ। पछिल्ला दिनमा बाघ गाउँमै पसेर दिनदहाडै बाख्रामा आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

स्थानीय बेसन सिंह ठगुन्नाका तीन वटा खसी–बाख्रा जङ्गलमा चरिरहेका बेला बाघले आक्रमण गरी मारेको हो। बाघले रगत पिएर बाँकी भाग त्यत्तिकै छाडिदिएको स्थानीय शिक्षक बिरुवा राम लुहारले जानकारी दिए।

लगातार बाघको आक्रमण हुन थालेपछि खसी–बाख्रा पालन गर्दै आएका किसानहरूमा निराशा छाएको छ। गाउँ नजिकै दिनदहाडै यस्ता घटना हुन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ। बालबालिका तथा पशुचौपायालाई बाहिर लैजानसमेत डर लाग्न थालेको स्थानीयको भनाइ छ।

जङ्गल क्षेत्र नजिक बसोवास गर्ने बासिन्दाले बाघको आतङ्कका कारण दैनिक जीविकोपार्जनमा असर परेको गुनासो गरेका छन्। उनीहरूले सम्बन्धित निकायसँग बाघ नियन्त्रण तथा आवश्यक सुरक्षा उपाय अपनाउन माग गरेका छन्।

प्रतिक्रिया