इलाम : इलामको रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा एक करोड ६६ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ।
आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि असार ३१ गतेसम्ममा दाताले चढाएको र सहयोग रकम गणना गर्दा एक करोड ६६ लाख रुपैयाँ जम्मा भएको हो।
रोङ गाउँपालिकाले कानुन निर्माण गरी मन्दिरलाई आफ्नो स्वामित्वमा ल्याएर व्यवस्थित गरेपछि रकम जम्मा हुनेक्रम बढेको पाथीभरा मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलिपकुमार राईले जानकारी दिए। स्वदेश तथा विदेशबाट मन्दिर दर्शन गर्न आउने भक्तजनले चढाएको भेटी तथा विभिन्न दाताले गरेको सहयोगबाट उक्त अवधिमा एक करोड ५६ लाख ६१ हजार चार सय ८८ रुपैयाँ नगद र नौ लाख ९९ हजार पाँच सय आठ रुपैयाँ बराबरको जिन्सी सङ्कलन भएको अध्यक्ष राईले जानकारी दिए। जिन्सी अन्तर्गत सुन, चाँदी पित्तल लगायतका धातु सङ्कलन भएको छ।
मन्दिरमा आम्दानी बढेसँगै गाउँपालिकाले साना तथा मझौता व्यवसायीका लागि सटर निर्माण गरेको छ। पालिकाले सिँढी बनाउनेदेखि मन्दिरको सजावटको काम गरिरहेको छ।
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले मन्दिरलाई पुनःनिर्माण गरी प्यागोडा शैलीमा निर्माण गर्ने जानकारी दिए। नयाँ समितिले मन्दिरको आम्दानी अनलाइनमार्फत इन्ट्री गर्ने गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार