नेपालगञ्ज : हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज गुलरिया सडकको अधिकांश भागमा ४ लेन र २ लेनसहित सरर गाडी गुडिरहँदा सोही राजमार्गको मुहान मानीने नेपालगञ्जमा धम्बोझी चोकदेखि नन्दनी मीलसम्मको सडक भने साँघुरो र खण्डहर जस्तै रहँदै आएको छ । साँघुरो सडकमा अव्यवस्थित संरचना र जथाभावी पार्किङले ग्यारेज जस्तै देखिने गरेको झण्डै २ किलोमिटर सडकले अव भने मुहार फेर्ने भएको छ ।
हुलाकी राजमार्गको पश्चिम खण्डको मुहानकारुपमा रहेको धम्बोझी चोक देखि नन्दनी मीलसम्मको सडक छिट्टै विस्तार हुने भएको छ । वर्षौदेखि अवरुद्ध नेपालगञ्जस्थित हुलाकी सडकअन्तर्गत धम्बोझीदेखि नन्दनी मिलसम्मको सडक विस्तारलाई तीव्रता दिने प्रक्रिया अघि बढाइएसँगै नेपालगञ्ज पश्चिमको हुलाकी सडकले मुहार फेर्ने भएको हो । उपमहानगर क्षेत्रमा पर्ने हुलाकी राजमार्गका दाँयाबाँयाका स्थायी र अस्थायी संरचना हटाउने प्रक्रिया शुरु भएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ । निर्देशनालयका नेपालगन्ज योजना प्रमुख लीलाबहादुर भण्डारीले एक महिनाभित्र अवरोध हटाएर काम अघि बढाउने तयारी गरिएको जानकारी दिए ।
धम्बोझी–नन्दनी मिल खण्ड समयमै विस्तार गर्न नसकिए हुलाकी सडकको औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था रहेको भण्डारीले बताए । 'हाल यो खण्ड अधुरो हुँदा सवारीसाधनलाई बाइपास प्रयोग गर्नुपर्ने बाध्यता रहेको र यसले यात्रु तथा स्थानीय व्यवसायमा समेत नकारात्मक प्रभाव पारेको छ ।' उनले भने ।
योजना प्रमुख भण्डारीले यस परियोजनालाई अगाडि बढाउन उच्च तहबाट निर्देशन प्राप्त भइसकेको जानकारी दिँदै त्यसका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख लगायत सरोकारवाला निकायसँग समन्वय गरेर सहमति जुटाइएको पनि जानकारी दिए । 'स्थानीय तहसँग भएको छलफलपछि सडक विस्तारमा सहकार्य गर्ने सहमति भइसकेको छ ।' उनले भने ।
स्थलगत अध्ययनका क्रममा अधिकांश घरधनीहरूले सडक मापदण्डअनुसार करिब १५ मिटर पछाडि संरचना बनाइसकेको पाइएको र बाँकी संरचना हटाउनसमेत उनीहरू सकारात्मक देखिएको जनाइएको छ ।
अध्यादेश मार्फत संशोधित सार्वजनिक खरिद ऐनअनुसार कुनै पनि नयाँ ठेक्का प्रक्रिया अघि बढाउँदा निर्माण क्षेत्रमा रहेका अवरोध हटाइएको वा हटाइने सुनिश्चितता अनिवार्य गरिएको उल्लेख गर्दै उनले यही कानुनी व्यवस्थालाई आधार मानेर आयोजना कार्यालयले पहिले संरचना व्यवस्थापन र त्यसपछि निर्माण कार्य अघि बढाउने रणनीति अपनाएको बताए ।
आयोजना कार्यालयको सडक क्षेत्रमा पर्ने संरचना खाली गनृका लागि सार्वजनिक सूचना जारी गर्ने तयारीसमेत अन्तिम चरणमा रहेको बताइएको छ । हुलाकी राजमार्गको नेपालगञ्ज उपमहानगर खण्ड निर्माण सम्पन्न हुँदा नेपालगञ्ज हुँदै सुदूरपश्चिम पुग्ने यात्रुहरुका लागि सरल, सहज र नजिकको गन्तब्य हुने देखिन्छ । यसैपनि जङ्गली जनावरको लगातारको आक्रमण, निकुञ्ज क्षेत्रमा समय सीमा तथा दूरीका हिसावले पनि नजिक पर्ने भन्दै निजी तथा साना भाडाका सवारी साधनले हुलाकी राजमार्ग प्रयोग गर्न थालिसकेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार