नेपालगञ्ज : दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरामा नयाँ वर्ष २०८३ को अवसरमा वैशाख ४ देखि ६ गतेसम्म 'रैथाने खाना महोत्सव' आयोजना हुने भएको छ । थारू सांस्कृतिक संरक्षण केन्द्र चखौराको सहकार्यमा पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेको अगुवाइमा महोत्सव सञ्चालन हुन लागेको हो ।
लामो समयदेखि थारू समुदायको रैथाने परम्परा, इतिहास, संस्कृति र संस्कारको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्दैआएको थारू सांस्कृतिक संरक्षण केन्द्रले चखौरामै 'थारू सांस्कृतिक सङ्ग्रहालय' सञ्चालन गर्दैआएको छ । पछिल्लो समय थारू समुदायको परम्परागत खानपान, भेषभूषा र रीतिरिवाज लोप हुँदैगएको अवस्थामा यसको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको थारू सांस्कृतिक संरक्षण केन्द्रकी उपाध्यक्ष शान्ता चौधरीले जानकारी दिइन् ।
उनका अनुसार महोत्सवमा विशेषगरी थारू समुदायका परम्परागत खानाका परिकारहरू प्रमुख आकर्षण रहने छ । दाङको विभिन्न स्थानका साथै रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लामा बसोवास गर्ने थारू समुदायले आफ्ना मौलिक परिकारहरू प्रदर्शन तथा बिक्री गर्ने छन् । यसका साथै नेवार, गुरुङ र मगर समुदायका परिकारहरू पनि महोत्सवमा उपलब्ध गराइने आयोजकले जनाएको छ । महोत्सवमा करिब १०० भन्दा बढी प्रकारका रैथाने खानाहरू राख्ने लक्ष्य रहेको उपाध्यक्ष चौधरीले बताइन् ।
खानाका परिकारसँगै विभिन्न समुदायका परम्परागत नाच, गीत तथा सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिने छन् । महोत्सव सफल बनाउन स्थानीयवासी, स्थानीय तह, युवा–विद्यार्थी, राजनीतिक दल, उद्योग व्यवसायी, सञ्चारकर्मी, कलाकार तथा संस्कृतिप्रेमी सबैलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ । साथै, पत्रकार तथा सञ्चार गृहलाई महोत्सवमा उपस्थित भइ रैथाने स्वाद अनुभव गर्न निम्ता दिइएको आयोजकको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार