Listen LIVE

भारतीय कुखुराको आयात नरोकिँदा नेपाली किसान मर्कामा

नेपालगञ्ज : बाँकेका विभिन्न नाकाबाट पछिल्लो समय कुखुराको अवैध आयात रोकिनुको सट्टा झन झन बढदै गएको छ । कुखुराको अवैध आयातले जिल्लाका किसानले गरेको कुखुरा उत्पादन र पोल्ट्री व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको जनाउँदै व्यवसायी आयात रोक्न नाकामा रखवारिकालागि खटिन थालेका छन् ।

कुखुरा व्यवसायी मञ्च बाँकेका अध्यक्ष धर्मराज पोखरेलले अवैध आयातका कारण नेपाली व्यवसायीको ठुलो लगानी डुब्ने अवस्था आएकोले व्यवसायीहरु आफै नाकामा पुगेर अवैध तस्करी गर्नेहरूको निगरानी गर्ने र प्रहरी बोलाएर जिम्मा लगाउने कार्य सुरु गरेको बताए ।

उनले सो क्रममा नाकाबाट अवैधरुपमा भित्र्याइएका कुखराहरुलाई नेपालगञ्ज बजारका विभिन्न मासु पसल र अन्य ठाउँबाट बरामद गरेर प्रहरीलाई बुझाउन थालेको बताए ।

नेपाली कुखुरा व्यवसायीका अनुसार खुला सीमानाको फाइदा उठाउँदै बर्दियाको बलई गाउँ फुटाहा नाकादेखि पूर्वी बाँकेको नरैनापुरसम्मका विभिन्न दर्जन बढी अवैध नाकाबाट कुखुराको अवैध आयात भइरहेको छ ।

नेपालमा एक किलो कुखुरा तयार हुँदा २२० रूपियाँ सम्म लागत पर्ने र भारतमा भने त्यही कुखुरा ९० रूपियाँमा तयार हुने भएकाले मूल्यको असमानताका कारण तस्करी मौलाएको कुखुरा व्यवसायी मञ्च बाँकेले जनाएको छ । बाँकेमा पाँच सय बढी साना ठूला कुखुरा पालक किसान र व्यवसायी रहेको तथ्यांक मञ्चसँग छ ।

उता, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, एसपी तुल बहादुर कार्कीले सीमा क्षेत्रबाट कुखुराको अवैध तस्करी भैरहेको सूचना प्राप्त भएपछि नियन्त्रणका लागि प्रहरीले गम्भीर भएर काम गरिरहेको बताए ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय बाँकेले फागुन महिनामा मात्रै अवैध रूपमा भारतबाट ल्याइएका तीन लाख ७६ हजार ८१० रुपैयाँ मूल्य बराबरको बोइलर कुखुरा र मासु नियन्त्रणमा लिएर पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज बुझाएको जनाएको छ ।

प्रतिक्रिया