Listen LIVE

बाँकेमा फागुन ५ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

नेपालगञ्ज : बाँकेमा फागुन ५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु हुँदैछ । १३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि बाँकेका तीन पालिका र एउटा पालिकाको एक वडामा हात्तीपाइले रोगका संक्रमित भेटिएपछि १४औँ पटक औषधि खुवाउन लागिएको हो ।  

नेपालगञ्ज उपमहानगरपालिकामा फागुन ५ तथा डुडुवा र नरैनापुरमा फागुन ७ गतेदेखि आम औषधि सेवन अभियान सुरु हुन लागेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताए । हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमबारे पत्रकारसँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा शाहीले एउटा व्यक्तिले औषधि खाने र अर्कोले नखाइदिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको बताए । बाँकेमा २ लाख ५७ हजार बढीलाई औषधि खुवाइँदै छ । नेपालगञ्जमा १ लाख ६४ हजार ९६ जना, डुडुवामा ४२ हजार १ सय ७४ जना र नरैनापुरमा ४२ हजार ३ सय ६९ जना तथा बैजनाथको ४ नम्बर वडामा ८ हजार ९ सय ६२ जना गरी जम्मा २ लाख ५७ हजार ६ सय १ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत दुर्गा गौतमले बताइन् । 

नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १.८ देखि २.५ प्रतिशतसम्म प्रिभेलेन्स (व्यापकता) देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत राम कुमार महतोले बताए । 

सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने दिगो विकास लक्ष्य भए पनि बाँकेका कारण समस्या सिर्जना भएको महतोले बताउनुभयो । सन् २००३ देखि सुरु भएको आम औषधि सेवन अभियानबाट सन् २०२० मै लक्ष्य हासिल गर्ने उद्देश्य राखिए पनि सम्भव नभएपछि लक्ष्य लम्बिएको हो ।  

बाँकेमा अहिलेसम्म १५.३६ प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले औषधि नै खाएका छैनन् ।नेपालगञ्ज उपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत पुगेकै छैन । औषधि सेवन दर ८० प्रतिशत नपुग्दासम्म त्यसको प्रभाव नरहने अध्ययनले देखाएको छ । 

सर्वेक्षण अनुसार नेपालगञ्जमा ३३.२८ प्रतिशत मानिसले औषधिको साइड इफेक्ट हुने डरका कारण तथा ३२.५३ प्रतिशत मानिसले जनचेतनाको कमीका कारण औषधि सेवन गरेका छैनन् । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. यदु चन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतीका रुपमा देखिएकाले यो पटक गम्भीरतापूर्वक लागिदिन सबै सरोकारवालालाई आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको हातेमालोमा जोड दिए । 

हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारीरिक रुपमा असक्त, असमर्थ तथा अपाङ्गता बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीबाट संक्रमण भएपछि लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेर यी परजीवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ । एक पटक मानिस संक्रमित भइसकेपछि उपचार नपाएको खण्डमा ४ देखि ६ वर्षसम्म रोग अरूलाई सर्दछ । हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकोले यसलाई हात्तीपाइले रोग भनिएको हो ।

प्रतिक्रिया