नेपालगञ्ज : बाँकेमा प्रत्येक वर्ष नयाँ कुष्ठरोगी पत्ता लाग्न थालेपछि रोग उन्मूलन लक्ष्यमा चुनौती थपिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा जिल्लामा ८६ नयाँ कुष्ठरोगी भेटिएका छन् । गत वर्ष यही अवधिमा ५८ रोगी फेला परेका थिए ।
जिल्लामा कुष्ठरोग पहिचान र उपचार गर्दै आइरहेको आईएनएफ नेपालद्वारा सञ्चालन भइरहेको साइनिङ अस्पतालको छालारोग उपचार केन्द्रका अनुसार यस्ता रोगीमाथि समाजमा विभेद हुँदा रोग लुकाएर बस्दा उन्मूलनमा समस्या देखिएको हो । उक्त केन्द्रका इन्चार्ज मंगलबहादुर थारुले जिल्लामा नयाँ रोगीको संख्या हरेक वर्ष बढिरहेको बताए ।
उनका अनुसार चालु वर्षको ६ महिनामा सबैभन्दा धेरै बाँकेमा ३६, बर्दियाका १२, जाजरकोट, रुकुम र कैलालीमा ५–५, अछामका तीन, दैलेखका दुई र दाङ, प्यूठान, रोल्पा, सल्यानमा १–१ जना रोगी फेला परेका हुन् । त्यसैगरी नेपालमा बसोबास गर्ने १४ जना भारतीय नागरिकमा पनि रोग फेला परेको छ ।
विभिन्न जिल्लाबाट यस अस्पतालमा जाँच गर्न आएका ३ सय ४२ जनामा परीक्षण गर्दा ८६ नयाँ रोगी भेटिएका हुन् । कुष्ठरोगको क्षेत्रमा अनुसन्धान गरिरहेको विराट मेडिकल ट्रस्टका फोकल पर्सन राजकुमार चौधरीले बाँकेमा समुदायस्तरमा रोग बढ्दो पाइएको बताए । साइनिङ अस्पतालको ओपीडीमा दैनिक ५०–६० जना बिरामी छालाका विभिन्न समस्या लिएर आउने गरेकामा सरदर २–३ दिनमा एक कुष्ठ रोगी पत्ता लाग्ने गरेको अस्पतालले जनाएको छ ।
अस्पतालले बर्सेनि करिब १६ हजारलाई कुष्ठ र छालारोगसम्बन्धी सेवा दिँदै आएको छ । खुला सीमा र समयमा उपचारमा नआउनाले यसको निदानमा समस्या हुने गरेको अस्पतालले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार