Listen LIVE

बन्यजन्तुको आक्रमणबाट बर्दियामा एघार जनाको ज्यान गयो

बर्दिया : बर्दियामा गत साउनयता जेठ २६ गतेसम्म वन्यजन्तुको आक्रमणमा परी ११ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा चितुवाबाट ८, पाटेबाघबाट २ र हात्तीबाट १ गरी ११ जनाको ज्यान गएको डिभिजन वन कार्यालयले जनाएको छ । सोही अवधिमा चितुवाबाट १३ र गैंडाबाट २ गरी १५ जना घाइते भएका छन् ।

'चालु आवको हालसम्म चितुवाको आक्रमणमा परी १७ र पाटे बाघको आक्रमणमा १ गरी १८ जना घाइते भएका छन्,' डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले भने, 'गत आर्थिक वर्ष ०८१–०८२ मा ४ जना चितुवा, एक गैंडा र एक जना हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो ।'

डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले ६ वटा समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिएको थियो । समस्याग्रस्त चितुवा नियन्त्रणमा लिए पनि अझै त्रास कम भएको छैन । गुलरिया, राजापुर, मधुवन, बारबर्दिया लगायत पालिकामा बेला बेलामा चितुवा गाउँबस्तीमा पस्ने गरेको छ ।

बर्दियासँग जोडिएको भारतीय सीमाना कतरनियाघाट वन्यजन्तु आरक्ष र बर्दिया निकुञ्जमा बाघको संख्या बढ्दै गएपछि चितुवा सामुदायिक वन हुदै गाउँबस्तीमा पस्ने गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्फाहाम्फेले वनभन्दा बाहिर चितुवा सहजै आहारा पाउने आशामा गाउँबस्ती पस्ने गरेको बताए ।

'निकुञ्जमा बाघको डरले चितुवा मध्यवर्ती क्षेत्र हुँदै बस्तीमा पस्ने गरेको छ, गाउँबस्तीमा पालिएका बाख्रा लगायत वस्तु भाउ खाने र ती आहारा नपाएपछि मानिस माथि आक्रमण गर्छ,' उनी भन्छन् । बर्दियामा चितुवाको गणना नभएकोले यसको एकिन संख्या नभएको बर्दिया निकुञ्जले जनाएको छ । पछिल्लो गणना अनुसार बर्दिया निकुञ्जमा १ सय २५ वटा बाघ रहेका छन् ।

प्रतिक्रिया