नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पताल मा रेबिजविरुद्धको ‘एन्टी–रेबिज भ्याक्सिन’ अभाव भएपछि निःशुल्क खोप सेवा ठप्प भएको छ। मौज्दात सकिएपछि हाल सेवाग्राहीलाई निःशुल्क खोप दिन नसकिएको अस्पतालले जनाएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संकेत रिजालका अनुसार कुकुरले टोकेपछि लगाइने रेबिज खोप प्रदेशमार्फत प्राप्त हुँदै आएको भए पनि आवश्यकता अनुसार डोज नआउँदा समस्या देखिएको हो। उनका अनुसार दैनिक दुई सयभन्दा बढी बिरामी खोपका लागि आउने गरेकामा उपलब्ध मात्रा अत्यन्त न्यून हुँदा सेवा निरन्तर सञ्चालन गर्न नसकिएको हो। खोपको मात्रा तत्काल बढाउनुपर्ने आवश्यकता उनले औंल्याए।
अस्पताल प्रशासनले प्रदेश सरकारलाई खोप आपूर्तिका लागि पत्राचार गरिसकेको भए पनि हालसम्म आपूर्ति हुन नसकेको जनाएको छ। खोप अभावसँगै सेवाग्राहीहरू निजी बजारबाट महँगो मूल्यमा खोप किन्न बाध्य भएका छन्। केन्द्र र प्रदेश सरकारबाट खोप प्राप्त नभएसम्म निःशुल्क सेवा सञ्चालन सम्भव नहुने अस्पतालको भनाइ छ।
स्थानीय दिलबहादुर थापाका अनुसार रेबिज खोप महँगो भएकाले सबै बिरामीले खरिद गरेर लगाउन सक्ने अवस्था छैन। उनले सर्वसाधारणलाई सहज सेवा दिन तत्काल खोप आपूर्ति गर्न सरकारसँग माग गरेका छन्।
रेबिज जस्तो ज्यानै जाने जोखिम भएको रोगको रोकथामका लागि अत्यावश्यक खोप अभाव हुँदा बाँकेमा स्वास्थ्य संकट गहिरिँदै गएको स्थानीयको चिन्ता छ। अब केन्द्र र प्रदेश सरकारको तदारुकताबाट मात्रै सेवा पुनः सुचारु हुने अपेक्षा गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार