नेपालगञ्ज : मुटु रोगको उपचारलाई सहज र प्रभावकारी बनाउन नेपालगञ्जस्थित भेरी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा छ । यो सेवा अन्तर्गत कोरोनरी एन्जियोग्राफी, कोरोनरी एन्जियोप्लास्टि, रेनल एन्जियोग्राम, पेरिकार्डियो सिन्टेसिस, पेसमेकर राख्ने लगायत मुटुसम्बन्धी विभिन्न उपचार गरिदै आएको अस्पतालका मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डा.विकास नेपाल बताउँछन् ।
एन्जियोग्राफीमा एउटा सानो क्याथेटर भनिने पाइप मुटुमा लगेर मुटुको नसामा औषधि पठाएर उक्त नसाहरुको ब्लकेज भए नभएको जाँच गरिन्छ । कोरोनरी एन्जियोप्लाष्टीमा ब्लकेज भएको मुटुको नसालाई क्याथेटर विधिबाट बेलुन र स्टेण्ट राखेर खुलाइन्छ । पेसमेकरमा स्थायी वा अस्थायीरुपमा मुटुको चाल कम भएको विरामीको मुटुको चाल ठीक पारिन्छ ।
पेरिकार्डियोग्राफी सिन्टेसिस भनेको मुटुको खोलमा पानी भरिएर पानीले मुटु थिचेको अवस्थामा उक्त पानी निकालेर मुटुलाई काम गर्न सक्ने बनाउने प्रक्रिया हो । अस्पतालबाट पेसमेकर (मुटुमा ब्याट्री राख्ने) सेवा पनि प्रदान भईरहेको छ । पेसमेकर राख्ने प्रक्रिया स्थायी र अस्थायी हुन्छ । अस्थायी कुनै इमरजेन्सीको बेला राखिन्छ । कुनै बिरामीको मुटुको धड्कन एकदमै कम भएको छ भने स्थायी ब्याट्री राखिन्छ । पटक पटक मुटुको धड्कन कम भएर बिरामी बेहोस हुन्छन् भने उनीहरूलाई स्थायी पेसमेकर राख्नुपर्छ । पेसमेकर राखेपछि मुटुको धड्कन राम्ररी चल्ने डा.नेपाल बताउँछन् ।
यो आर्थिक वर्षमा मात्रै अस्पतालमा रहेको क्याथ ल्याबबाट करिब ४८५ बढी बिरामीले सेवा लिएको क्याथ ल्याबमा रहेको तथ्यांकले देखाउँछ । श्रावण महिना देखि गत फागुन १४ गतेसम्मको तथ्यांक हेर्दा ४८७ जना बिरामीलाई सेवा प्रदान गरिएको उपचारमा संग्लग्न डा.नेपाल बताउँछन् ।
पश्चिम नेपालका अधिकांश बिरामी भेरी अस्पतालमा क्याथ ल्याब अन्तर्गतको सेवा लिन आउँछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ्ग, दार्चुला लगायतका जिल्लाका बिरामीहरुले यो आर्थिक वर्षमा उपचार सेवा लिएका छन् । तीन सय ७४ जनाले कोरोनरी एन्जियोग्राफी सेवा लिएका छन् । यस्तै १ सय २९ जनालाई एन्जियोप्लाष्टी, १७ जनालाई टेम्परेरी पेस मेकर, ११ जनालाई पर्मानेन्ट पेसमेकर, ६ जनालाई बलुन एन्जियोप्लाष्टी सेवा प्रदान गरिएको एसोसियट प्रोफेसर डा.नेपालले जानकारी दिएका छन् । पेरिकार्डियो सिन्टेसिस सेवा ४ जनालाई,जेनेरेटर रिप्लेसमेन्ट २ जनालाई, जेनेरेटर रिपोजिसन सेवा १ जनालाई प्रदान गरिएको अस्पतालको तथ्यांकमा उल्लेख छ ।
अस्पतालको क्याथ ल्याबबाट दुईजना मुटुरोग विशेषज्ञ, एक जना फिजिसियन, दुईजना मेडिकल अफिसर, स्टाफ नर्सलगायतको जनशक्तिले सेवा प्रदान गरिरहेको छ ।जनशक्ति अभावले हातहरु खुम्चिएको भन्दै मुटुरोग विशेषज्ञ डा. नेपाल दक्ष जनशक्ति थप भए मुटुरोगको उपचारलाई अस्पतालबाट अझ बिस्तार गर्न सकिने बताउँछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार