जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल अन्तिम चरणमा पुगेको छ । अस्पताल पूरा हुने संघारमा पुगेसँगै उपचारका लागि नेपालगञ्ज, कोहलपुर वा भारत जानुपर्ने बाध्यता अन्त्य हुने आशा स्थानीयमा बढेको छ ।
७ हजार २ सय ६३ घरधुरी र ४६ हजार ५ सय ३६ जनसंख्या रहेको जानकी गाउँपालिकामा यसअघि सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने अवस्था थियो । समयमै उपचार नपाएर ज्यान गुमाएका घटनाहरू स्थानीयले अझै बिर्सेका छैनन् । अहिले भने अस्पतालको भवन उभिएसँगै भरोसा पलाएको छ ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको बताउँदै भवनसँगै जनशक्ति अनिवार्य रहेको उल्लेख गरे । उनले केन्द्र र प्रदेश सरकारसँग डाक्टर, नर्स, ल्याब टेक्निसियन र आवश्यक स्वास्थ्यकर्मी व्यवस्थापन गर्न आग्रह गरे । “जनशक्ति बिना अस्पताल सञ्चालन सम्भव हुँदैन,” उनको भनाइ छ ।
वडा नं. ५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता दिनानाथ यादवले अस्पतालको करिब ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको र दुई महिनाभित्र भवन हस्तान्तरण हुने जानकारी दिए । उनले अस्पताललाई गाउँमै आधारभूत सेवा सुनिश्चित गर्ने महत्वपूर्ण संरचना बताए ।
प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले अस्पताल सञ्चालनमा आएपछि सेवा प्रवाहमा गुणात्मक सुधार आउने विश्वास व्यक्त गरे । वरिष्ठ लेखा अधिकृत मतिन अन्सारीका अनुसार अस्पताल निर्माणका लागि १७ करोड ५४ लाख रुपैयाँको लागत अनुमान गरिएकोमा करसहित ११ करोड ४४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।
स्थानीयवासीहरूले भवन बनेकोमा खुसी व्यक्त गरे पनि जनशक्ति नआए सेवा नपाइने चिन्ता व्यक्त गरेका छन् । उनीहरूको साझा माग छ—भवनसँगै राज्यले तत्काल स्वास्थ्यकर्मी व्यवस्था गरोस् ।
जानकी गाउँपालिकाका लागि यो अस्पताल संरचना मात्र होइन, राज्यको प्रतिबद्धताको परीक्षा बनेको छ । जनशक्ति सुनिश्चित भएमा मात्र ४६ हजारभन्दा बढी नागरिकका लागि यो अस्पताल व्यवहारिक र प्रभावकारी बन्ने स्थानीयको अपेक्षा छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार