Listen LIVE

नेपालगञ्ज भन्सारबाट असी प्रतिशत राजस्व संकलन

नेपालगञ्ज : पश्चिमका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले आठ महिनाको अवधिमा निर्धारित लक्ष्यको ८० प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको छ । 

सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को आठ महिनामा १५ अर्ब ७७ करोड ११ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारित गरिएकोमा १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार रुपैयाँ अर्थात लक्ष्यको ८०.८८ प्रतिशत राजस्व संकलन गरिएको छ । 

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले गत आर्थिक वर्ष २०८१–८२ को आठ महिनामा लक्ष्यको ७२.४८ प्रतिशत राजस्व संकलन भएकोमा चालु आवमा ८०.८८ प्रतिशत संकलन भइ आठ प्रतिशत बृद्धि भएको बताए ।  

उनले लक्ष्यको सबैभन्दा बढी माघ र फागुन महिनामा राजस्व संकलन भएको जनाउँदै माघमा ८८.२४ र फागुनमा ८८.३२ प्रतिशत राजस्व संकलन भएको बताए । 

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवमा २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा आठ महिनामा करिब ५२ प्रतिशत मात्र राजस्व संकलन भएको छ । 

लक्ष्य पूरा गर्नका लागि बाँकी रहेका चार महिनामा ४८ प्रतिशत राजस्व संकलन गर्नुपर्ने देखिएकाले यो वर्ष पनि लक्ष्य पूरा नहुने संकेत देखिएको भन्सार कार्यालयका प्रमुख पौडेलले बताए । 

गत आर्थिक वर्ष २०८१–८२ मा नेपालगञ्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व संकलन गरेको थियो । त्यसको अघिल्लो आर्थिक २०८०–८१ मा ६३.३५ प्रतिशत राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया