Listen LIVE

नेपालगञ्जमा एकमहिने ड्राइभिङ तालिम शुरु

नेपालगञ्ज : सामाजिक विकास डिभिजन कार्यालय, नेपालगञ्जको आयोजनामा तथा शुभ स्वस्तिक ड्राइभिङ स्कुल प्रालिको प्राविधिक सहयोगमा नेपालगन्जमा एकमहिने हल्का सवारी चालक (ड्राइभिङ) तालिम शुरु भएको छ।

जानकी गाउँपालिका–३ का वडा अध्यक्ष राजकुमार वर्माको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले तालिमको शुभारम्भ गरिन्। कार्यक्रममा बोल्दै उनले सीपमूलक तालिमले युवाहरूलाई रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्। 

प्रदेशसभा सदस्य काफ्लेले हल्का सवारी चालकसम्बन्धी सीप हासिल गरेपछि युवाहरूलाई आत्मनिर्भर बन्न सहज हुने उल्लेख गर्दै गत वर्ष आफ्नै पहलमा सञ्चालन गरिएको यस्तै तालिमबाट २५ जना लाभान्वित भएको र तीमध्ये १२ जना रोजगारीमा आबद्ध भइसकेको जानकारी दिइन्। उनले सीप र दक्षता विकासमार्फत बेरोजगारी न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।सामाजिक विकास डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख ऋषिराज शर्माले वर्तमान समय सीप र दक्षताको युग भएकाले सीपबिना रोजगारी प्राप्त गर्न चुनौतीपूर्ण रहेको बताइन् । 

उनले आयआर्जनका लागि मात्र नभई आफ्नै सवारी साधन सुरक्षित र जिम्मेवार ढंगले सञ्चालन गर्न पनि ड्राइभिङ सीप आवश्यक रहेको धारणा राखे।शुभ स्वस्तिक ड्राइभिङ स्कुल प्रालिका ऐहसान हलवाईका अनुसार तालिमको प्रारम्भिक चार दिन सहभागीहरूलाई ट्राफिक नियम, सवारी सञ्चालनसम्बन्धी आधारभूत जानकारी तथा सुरक्षा मापदण्डबारे सैद्धान्तिक प्रशिक्षण दिइनेछ। त्यसपछि सहभागीहरूलाई प्रयोगात्मक अभ्यासमार्फत सवारी सञ्चालनका व्यावहारिक सीप सिकाइनेछ।

तालिममार्फत सहभागीहरूलाई व्यावसायिक तथा व्यवहारिक सीप प्रदान गरी रोजगारी र स्वरोजगारका अवसरमा पहुँच विस्तार गर्ने तथा आत्मनिर्भर जीवनयापनतर्फ उन्मुख गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया