Listen LIVE

बाँकेका ८ स्थानीय तहको खर्च ८८ प्रतिशत मात्र

नेपालगञ्ज : संघीय सरकार अन्तर्गत बाँकेमा रहेका कार्यालयको विकास बजेट(पुँजीगत) मा लगातार सुधार हुदै गएको छ। पछिल्लो तीन वर्षयता विकास बजेटमा क्रमिक रुपले सुधार हुदै गएको नेपालगञ्जस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकले पुष्टि गरेको छ। 

कार्यालयका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा विकास बजेट ८६.६४ प्रतिशत खर्च भएको पाइएको छ। यसअघि आर्थिक बर्ष २०७९–०८० मा ७७.१९ र आ.व. २०७८–०७९ मा ७५.३७ प्रतिशत बजेट खर्च भएको थियो । 

तीन वर्षको तथ्यांक हेर्दा जिल्लाको विकास बजेट खर्चमा केही सुधार आएको प्रमुख कोष नियन्त्रक मोहन शरण भण्डारीले बताए । उनका अनुसार आर्थिक बर्ष २०८०–८१ मा संघीय सरकारबाट चालु र पूँजीगत गरी कुल १८ अर्ब २४ करोड ७० लाख रूपैयाँ अख्तियारी पाएकोमा कुल ९१.३८ प्रतिशत खर्च भएको थियो । जसमध्ये पूँजीगत तर्फ ६ अर्ब १३ करोड २९ लाख १५ हजार ७ सय १६ रूपैयाँ विनियोजन भएकोमा करिव ८७ प्रतिशत खर्च भएको छ । 

यस्तै चालुतर्फ १२ अर्ब ११ करोड ४१ लाख ७६ हजार ७ सय १० रूपैयाँ विनियोजन भएकोमा करिव ९४ प्रतिशत खर्च भएको प्रमुख कोष नियन्त्रक भण्डारीले प्रष्ट्याए । आर्थिक वर्षको सुरुमा खर्च गर्न पाउने गरी अख्तियारी प्रदान गरेपनि विभिन्न प्रकृयागत कारण देखाएर विकास बजेट न्युन खर्च भईरहेका बेला पछिल्ला बर्षमा विकास बजेट खर्चमा सुधार आएको कार्यालयले जनाएको छ । 

यसैबीच, बाँकेमा रहेका ८ वटा स्थानीय तहले ८८.४१ प्रतिशत बजेट खर्च गरेका छन् । जिल्लाका स्थानीय तहका लागि कुल ३ अर्ब ९३ करोड ८५ लाख ७० हजार विनियोजन भएकोमा ३ अर्ब ४८ करोड २२ लाख ८० हजार ८ सय ३० रुपैयाँ ६९ पैसा खर्च भएको पाइएको छ ।

प्रतिक्रिया