नेपालगञ्ज : दुबै मृगौला फेल भएर सिकिस्त बिरामी भएका वरिष्ठ लोक गायक कमल विके निर्मोहीलाई ५१ हजार राशीको “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” प्रदान गरिने भएको छ ।
नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको सो पुरस्कार बिरामी भएर थला पर्नुभएका वरिष्ठ गायक निर्मोहीलाई यस वर्ष प्रदान गर्ने निर्णय गरिएको पुरस्कारका संरक्षक गायक तथा सङ्गीतकार कन्हैया सिंह परियाले बताए ।
उपचारका लागि आर्थिक अभाव झेलिरहेका गायक निर्मोहीको योगदानको कदर गर्दै उनलाई सम्मान गर्नुका साथै उनको उपचारमा सहज होस भन्ने उद्देश्यले यो पुरस्कार उनलाई प्रदान गर्ने निर्णय गरिएको परियारले बताए ।
उनका अनुसार विशेष गरी कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार तथा सम्मानको उद्देश्य भनेको नेपाली सङ्गीत क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनु भएका अग्रज स्रष्टा तथा कलाकारहरूलाई जिवित रहँदै सम्मान पत्र सहितको नगद पुरस्कारबाट पुरस्कृत गर्नु रहेको छ ।
नेपाली गीतहरूलाई सम्वर्धन तथा प्रवर्धन गर्नका लागि विगत लामो समयदेखि सक्रिय रहेका कमल विके निर्मोहीले मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका मौलिक भाकाका गीतहरूलाई नेपाली श्रोता तथा दर्शक माझ प्रस्तुत गर्दै आइरहेका छन् ।
विशेषतः गायक निर्मोहीका “बुलबुल तालैमा, आउँ त भने, मैले भन्थे नी, सलल बग्ने, ताने झै माया, अरु मैले, बनको फूल फुले छ, कठै सानु, भेरी दोभान, लाग्यो माया” लगायत दर्जनौँको सङ्ख्यामा रहेका गीतहरू चर्चामा रहेका छन् ।
हाल निर्मोही मृगौला रोगबाट पीडित छन् । उनको उपचार सहयोगार्थ समिति समेत गठन भएको छ । बास नेपालको संयोजनमा नेपालगञ्जमा भएको भेलाले बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहको संयोजकत्वमा ७ सदस्यीय उपचार सहयोग समिति गठन गरेको हो । समितिका संयोजक शाहले गायक विकेको मृगौला प्रत्यारोपण गर्नका लागि सबैलाई सहयोग गर्न अनुरोध पनि गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार