Listen LIVE

बाँकेमा ‘नाइरोबी फ्लाई’ कीराको संक्रमण, सचेत रहन आग्रह

नेपालगञ्ज : बाँकेको नेपालगञ्जसहित ग्रामीण क्षेत्रमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणबाट छालामा फोका उठ्ने र पाक्ने समस्या बढ्न थालेको छ । वर्षायाममा देखिने यस कीराले छोएका व्यक्तिमा यस्तो समस्या देखिन थालेको भेरी अस्पतालका यौन तथा छाला रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमले बताइन् । 

डाक्टर अस्मिता गौतमले भनिन, “अत्यधिक गर्मीकै बिच केही दिन लगातार परेको वर्षाले जिल्लामा मनसुनजन्य रोगको सङ्क्रमण बढेको छ ।” उनले भनिन, ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमण भएका बिरामीसँगै शरीर चिलाउने, बच्चाहरूमा पिलो आउने, घमौरा, छालामा सङ्क्रमण लगायतका बिरामी बढिरहेको जानकारी दिइन् ।

अस्पतालमा अहिले दैनिक ८ देखि १० जनामा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमण र ७० देखि ८० जनामा अन्य छाला रोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा. गौतमले जानकारी दिइन् ।

‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमण तीव्र रुपमा बढी रहेको बताउँदै उनले कीराले छोएपछि निस्किने एकप्रकारको रसायनले मानिसको छालामा फोका हुने र पाक्ने गरेकाले सो कीराको सम्पर्कबाट जोगिन सुझाव दिइन् । कीराको सम्पर्कबाट जोगिन बाउला भएको सर्ट र पाइन्ट लगाएर शरीरलाई ढाक्ने, कीराले छोएको ठाउँको छालालाई धुने र सङ्क्रमण भएमा चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्नुपर्ने उनको भनाई थियो  । 

खासगरी बेलुकाको समयमा बत्ती बलेको ठाउँमा यो कीरा आउने गरेकाले सतर्क रहन डा. गौतमले आग्रह गरिन् । डा. गौतमले भनिन,“यस कीराको समस्याले हाल स्वास्थ्य संस्था र अस्पताल धाउनेको सङ्ख्या बढिरहेको छ । सङ्क्रमणबाट जोगिन घरबाहिरको बत्ती कम प्रयोग गर्ने र वातावरण सरसफाइमा पनि ध्यान दिनुपर्छ ।”,

यस्तै भेरी अस्पताल नेपालगञ्जका सूचना अधिकारी डा. संकेत कुमार रिसालले वर्षाका कारण हुने विभिन्न रोगका बिरामी केही दिन यता अस्पतालमा आउने क्रम बढेकोले सचेत रहन सबैलाई आग्रह गरे । 

डा. रिसालले छाला रोग सँगै झाडापखाला, टाइफाइड र ज्वरो आएका बिरामीहरू अस्पताल आउने क्रम बढेको बताए । उनले मनसुनजन्य रोग लागेका बिरामीहरू दैनिक सय भन्दा बढीको सङ्ख्यामा अस्पतालमा उपचारका लागि पुगिरहेको बताए ।

प्रतिक्रिया