Listen LIVE

नेपालगञ्जमा चिकित्सकले लेखेको औषधी अब अस्पतालभित्रै पाइने

नेपालगञ्ज : भेरी अस्पतालमा उपचार गराउन आउने बिरामीले अबदेखि चिकित्सकले लेखेको औषधी अस्पतालभित्रैको फार्मेसीबाट पाउने भएका छन्। 

ओपीडीमा जाँच गराउन आउने बिरामीले चिकित्सकले लेखिदिएको औषधी अस्पताल हातामा रहेको फार्मेसीबाट पाउने भएका हुन्। चिकित्सकले लेखेको सबै औषधी अस्पताल हातामा रहेको फार्मेसीमा उपलब्ध नहुँदा सेवाग्राही बाहिरका मेडिकलमा महँगोमा औषधी खरिद गर्नुपर्ने बाध्यतामा थिए। 

ओपीडीमा जाँच गराउने बिरामीलाई डाक्टरले सिफारिस गरिदिएको सबै औषधी अस्पताल हातामै रहेको फार्मेसीबाट उपलब्ध गराई व्यवस्थापन गरिने अस्पताल विकास समितिको मङ्गलबार बसेको बैठकले निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले जानकारी दिए।

त्यसैगरी इमर्जेन्सी विभागबाट प्रदान गरिँदै आएको एक्सरे सेवालाई २४सै घण्टा सञ्चालन हुने उनले जानकारी दिए। अध्यक्ष शाहका अनुसार बैठकले ओपीडी टिकट काउन्टरबाट टिकट काट्ने ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति र गर्भवतीलाई लाइन बस्न नपर्ने गरी सोझै जाँचको व्यवस्था गरिएको छ।

उनका अनुसार अस्पतालमा हाल १५ वर्ष पुरानो सिटी स्क्यान मेसिन छ। त्यो पनि बिग्रिएर बसेको छ। पुरानो मेसिनलाई तत्काल मर्मत गर्न र नयाँ मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाउन स्वास्थ्य मन्त्रीसँग अनुरोध गर्ने निर्णय भएको उनको भनाइ छ। 

अस्पतालले केहीदिन अघिबाट मात्र अनलाइन टिकट सेवाको सुरुआत गरिसकेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट भेरी अस्पतालमा दैनिक एक हजारभन्दा बढीको सङ्ख्यामा सर्वसाधारण आउने गरेका छन्।

प्रतिक्रिया