Listen LIVE

बजेट अभावले स्वास्थ्य केन्द्रको भवन निर्माण रोकियो

दाङ : बजेट अभावका कारण घोराही उपमहानगरपालिका–८ स्थित मर्पाडाँडा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माणको काम रोकिएको छ । दुई वर्षअघि निर्माण सुरु भएको सहरी स्वास्थ्य केन्द्रको भवन गत वर्षदेखि ठप्प रहेको छ । 

आर्थिक वर्ष २०७९।८० मा लुम्बिनी प्रदेश सरकारको बजेटमा स्वास्थ्य केन्द्रको भवन निर्माणको काम सुरु भए पनि त्यसपछि बजेटले निरन्तरता नपाउँदा भवन निर्माणको काम रोकिएको सहरी स्वास्थ्य केन्द्रका प्रमुख लालबहादुर डिसीले बताए । प्रदेश सरकारको अनुदान कार्यक्रम अन्तर्गत परेको १५ लाख बजेटबाट भवन निर्माणको काम सुरु भएको हो । 

उनका अनुसार १५ लाख बजेटबाट चारकोठे भवनको फाउन्डेसनसँगै पिल्लर उठाउने मात्र काम गरिएको छ । नयाँ भवन निर्माणको काम सम्पन्न नहुँदा पुरानो र साँघुरो भवनबाट नागरिकलाई स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता रहेको प्रमुख डिसीको भनाइ छ । 

सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु भए पनि योजना बहुवर्षीय कार्यक्रममा स्वीकृत नहुँदा बजेटको समस्या भएको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्रकुमार पाण्डेले बताए । ठुला योजनाका काम गर्दा बहुवर्षीय कार्यक्रम अन्तर्गत स्वीकृत हुनुपर्ने भए पनि सहरी स्वास्थ्य केन्द्रको भवन बनाउने कार्यक्रम स्वीकृत हुन ढिलाइ हुँदा बजेटको समस्या भएको उनले बताए ।

योजना निर्माणका लागि करिब ७०।८० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उपभोक्ता समितिमार्फत निर्माण सुरु गरिएको भवन निर्माणका लागि बजेट नहुँदा योजना अलपत्र परेको स्थानीय कुलप्रसाद रजौरे बताउँछन् ।

प्रतिक्रिया