काठमाण्डौ : अखिल नेपाल फुटबल संघ -एन्फा)ले यही चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको लागि राष्ट्रिय खेलकुद परिषद् -राखेप)बाट कुनै आधिकारिक स्वीकृति नआएको प्रष्ट पारेको छ।
एन्फाद्वारा आज जारी विज्ञप्तिअनुसार खेल सञ्चालनका लागि दशरथ रंगशालाको मर्मत सम्भारदेखि आवश्यक स्वीकृति समयमै नपाएको दाबी गरेको छ। एन्फाले हिजो विज्ञप्ति जारी गरेर राखेपले दशरथ रंगशाला उपलब्ध नगराएकोले नेपाल र हङकङ बीचको खेल रद्द भएको जनाएको थियो।
साथै नेपालले हङकङ फुटबल संघलाई पठाएको पत्रमा नेपालको राजनीतिक तनावका कारण खेल रद्द भएको जानकारी गराएको थियो। तर, आइतबार साँझ नै राखेपले एन्फाको विज्ञप्तिको खण्डन गर्दै समयमै दशरथ रंगशालाको स्वीकृति दिएको र एन्फाले भ्रम फैलाएको जनाएको थियो। त्यसको भोलिपल्ट एन्फाले फेरि विज्ञप्ति निकाल्दै राखेपकै पत्रको खण्डन गरेको छ।
एन्फाकाअनुसार खेल सञ्चालनका लागि आवश्यक स्वीकृति तथा दशरथ रंगशाला उपलब्ध गराउन भन्दै माघ १० गते नै राष्ट्रिय खेलकुद परिषद् -राखेप)लाई पत्राचार गरिएको थियो। सो पत्र माघ ११ गते दर्ता भएपनि लामो समयसम्म कुनै लिखित स्वीकृति प्राप्त हुन नसकेको जनाएको छ।
एन्फाले पटक–पटक राखेपका सम्बन्धित अधिकारीसँग ताकेता गर्दा पनि स्पष्ट जवाफ नपाएको दाबी गर्दै चैत ५ गते बिहानदेखि दिउँसोसम्म एन्फाका कर्मचारी राखेप कार्यालयमै उपस्थित हुँदासमेत लिखित स्वीकृति नदिएको एन्फाले दाबी गरेको छ।
दशरथ रंगशालाको मर्मत सम्भार, फ्लडलाइट इन्धन, कर्मचारी व्यवस्थापनलगायत सम्पूर्ण आर्थिक तथा प्राविधिक दायित्व आफैंले बहन गर्दै आएको अवस्थामा पनि समयमै स्वीकृति नपाउनु दुःखद् भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
खेल स्थगनको सूचना जारी गरिसकेपछि राखेपले स्वीकृति प्रदान गरिसकेको भन्दै सार्वजनिक गरेको प्रेस विज्ञप्तिप्रति एन्फाले आश्चर्य व्यक्त गरेको छ। ५ गते जारी गरिएको पत्र चैत ८ गते मात्र सार्वजनिक गरिएको भन्दै राखेपको नियतमाथि एन्फाले प्रश्न उठाएको छ।
एन्फाले हालसम्म कुनैपनि आधिकारिक वा लिखित स्वीकृति प्राप्त नभएको स्पष्ट पार्दै प्रशासनिक ढिलाइका कारण उत्पन्न परिस्थितिप्रति सम्पूर्ण खेलप्रेमीहरूसँग क्षमायाचना गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार