खजुरा (बाँके) : खजुरा गाउँपालिकालाई पोषणमैत्री बनाउन आवश्यक तयारी गरिएको छ । यसका लागि पोषणमैत्री स्थानीय शासन प्रवद्र्धन सम्बन्धी सरोकारवालाबीच अभिमुखिकरण गरिएको छ । नवजात शिशु तथा बालबालिकाको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखेर पोषण विशेष कार्यक्रम सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीले जानकारी दिइन् ।
उनका अनुसार बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि अभियानका रुपमा कार्यक्रम सञ्चालन गरिएको छ । ‘यस कार्यक्रमअन्तर्गत बच्चा जन्मेदेखीको स्वास्थ्य अवस्था, तौल, खानपिन लगायतका विषयमा तथ्यांक राख्ने र उनीहरुमा कुनै कारण स्वास्थ्यमा समस्या देखापरेमा गाउँपालिकाले उपचारको व्यवस्था मिलाउनेछ,’ केसीले भनिन् ।
आमाले राखेको तथ्यांकका आधारमा आवश्यक पोषण तथा स्वास्थ्य उपचारको व्यवस्था गाउँपालिकाले गर्नेछ । बालबालिकाको मानसिक स्वास्थ्य बृद्धि अनुगमन र पोषणा लेखाजोखा गरिने उनले बताइन् । कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गराउन खजुराका सबै वडाका महिला स्वास्थ्य स्वयं सेविका, आमा समूह, महिला समूहबाट सुझाव संकलन गरेर काम गरिरहेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बि.क. ‘तुफान’ले बताए ।
‘कार्यक्रमको मुख्य उद्देश्य समाजमा हुने कुपोषणलाई हटाएर स्वास्थ्य नागरिक उत्पादन गर्ने हो, यो कार्यक्रमले बालबालिकामा हुने कुपोषण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ,’ अध्यक्ष बि.क.ले भने, ‘बालबालिकालाई स्वास्थ्य र मानसिक रुपमा सक्षम बनाउन सहयोग पुग्छ, शिशु जन्मेपछि उसको तौल, मोटाई लगायत उसको बृद्धि विकासको रेकर्ड राख्छौँ, त्यो रेकर्डका आधारमा बच्चाको स्वास्थ्य अवस्था हेर्छौ ।’ बालबालिकालाई पर्याप्त पोषणको व्यवस्था गरेर कुपोषणलाई शून्यमा झार्ने लक्ष्य अनुरुप काम थालनी भएको उनले जानकारी दिए ।
नागरिकलाई सहज स्वास्थ्य सेवाका लागि गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा योजनाबद्ध रुपले विकास गरिरहेको उनले जोड दिए । यस्तै उपाध्यक्ष मञ्जु मल्लले गाउँपालिकामा सञ्चालन भइरहेको पोषण कार्यक्रमले बालबालिकाको स्वास्थ्य क्षेत्रमा निकै ठूलो योगदान पुग्ने विश्वास गरिन् । ‘यसलाई नमूना कार्यक्रमका रुपमा सञ्चालन गरेर सफल बनाउनुपर्छ,’ उनले भनिन् ‘महिलाको हक अधिकार, स्वास्थ्य, सुविधा तथा क्षमता विकास क्षेत्रमा गाउँपालिकाले चरणबद्ध रुपमा काम गरिरहेको छ ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार