Listen LIVE

प्रदेश आयुर्वेद अस्पतालमा अन्तरङ्ग सेवा सञ्चालन

सुर्खेत : प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले अन्तरङ्ग सेवा सञ्चालनमा ल्याएको छ । अन्तरङ्ग सेवा सञ्चालनमा आएसँगै अब बिरामीले अस्पतालमै भर्ना भएर उपचार लिन पाउने छन् । 

यसअघि अस्पतालमा अन्तरङ्ग सेवा नहुँदा वीरेन्द्रनगर बाहिरका बिरामीलाई कोठा भाडामा लिएर उपचार गराउनु पर्ने बाध्यता रहेको थियो । कर्णाली प्रदेशमै पहिलो पटक प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतले अन्तरङ्ग सेवा सञ्चालनमा ल्याएको हो । कर्णालीको सुर्खेतबाट सञ्चालनमा आएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा तर्फको अन्तरङ्ग सेवा प्रदेशका दश वटै जिल्लामा पु¥याउने सरकारी लक्ष्य रहेको छ । 

अस्पतालले आवश्यक जनशक्तिसँगै पूर्वाधार तयार गरेपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले अन्तरङ्ग सेवा सञ्चालनका लागि अनुमति दिएको हो । यद्यपि ! अस्पतालले गएको चैत ११ गतेदेखि नै अन्तरङ्ग सेवा शुरु गरी हालसम्म १४ जना बिमारीलाई डिस्चार्ज गर्नुका साथै अहिले ६ जना बिरामीको उपचार गरिरहेको अस्पतालका निर्देशक डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनले प्रदेश राजधानी जस्तो ठाउँमा लामो समयदेखि आयुर्वेद तथा वैकल्पिक चिकित्सा तर्फका सेवाग्राहीको मागलाई सम्बोधन गर्न अन्तरङ्ग सेवा शुरु गरिएको जनाए । 

सेवाग्राहीको बढ्दो मागलाई अस्पतालले ढिलै भएपनि प्रदेश सरकार सहयोगमा उपलब्ध साधन स्रोतको अधिकतम् उपयोग गर्दै अन्तरङ्ग सेवा शुरु गरेको उनको भनाइ थियो । उनले मागको अनुपातमा हालको सेवा पर्याप्त नभएपनि चाडै थप स्तरोन्नति गर्ने अस्पतालको योजना रहेको जानकारी दिए । उनका अनुसार हाल १७ जना बिरामी क्षमताको अन्तरङ्ग सेवा सञ्चालनमा ल्याइएको छ । यता अस्पतालका सूचना अधिकारी श्रीराम आचार्यले हाल सञ्चालनमा आएको अन्तरङ्ग सेवा सानो ठाउँबाट शुरु गरिएपनि अस्पतालको भवन निर्माण चार वर्षदेखि अलपत्र हुँदा सेवा प्रवाहमा कठिनाई भइरहेको बताए । 

उनले ३० बेडको अन्तरङ्ग सेवा सञ्चालनका लागि सरकारले अनुमति दिएपनि पर्याप्त भौतिक पूर्वाधार र आवश्यक जनशक्ति नहुँदा २० बेड मात्र सञ्चालनमा ल्याइएको जनाए । उनका अनुसार अस्पतालमा हाल २६ जनाको मात्र दरबन्दी कायम गरिएपनि डेढ सय बढी जनशक्तिको आवश्यकता हुन्छ । अस्पतालमा अहिले अधिकांश करारकै कर्मचारीबाट काम चलाउनु परिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया