नेपालगञ्ज : पश्चिम नेपालको प्रमुख रेफरल अस्पतालको रूपमा रहेको भेरी अस्पतालको आइसियूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न नेकपा (एमाले) बाँकेले माग गरेको छ ।
एमाले बाँके निर्वाचन क्षेत्र–२ ले भेरी अस्पतालको आइसियूलाई पूर्ण क्षमतामा सञ्चालन नगर्दा विपन्न र गरिब बिरामीले आवश्यक परेको बेला आइसियूको बेड नपाउँदा महँगो शुल्क तिरेर निजीमा उपचार गराउनु पर्ने बाध्यता रहेकाले सो बाध्यता अन्त गर्न सो माग गरिएको जनाएको छ ।
पश्चिम नेपालको २४ जिल्लाबाट नेपालगञ्जमा बिरामीहरू उपचारका लागि आउने भएकाले बिरामीको चाप ह्वात्तै बढे पनि १५ शैयाको आइसियू हाल १० शय्यामा मात्र सीमित रहेको छ ।
गम्भीर प्रकारका बिरामीले आइसियूमा बेड नपाउँदा समस्या भोग्नुपरेको जनाउँदै एमाले केन्द्रीय सदस्य एवं क्षेत्र २ का इन्चार्ज पशुपतिदयाल मिश्रले आइसियूलाई पूर्ण क्षमतामा सञ्चालन गर्नु आवश्यक रहेको बताए ।
उनले भने, ‘भेरी अस्पतालको आइसियू पश्चिमको आशा, भरोसाको केन्द्र भएको हुँदा यसलाई पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्छ भन्ने हाम्रो माग हो ।’ बाँके क्षेत्र २ का इन्चार्ज मिश्रका अनुसार के कति कारणले यो पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको हो त्यसका विषयमा अस्पतालसँग जवाफ माग गरिनुका साथै केन्द्रीय निकायसँग समस्या समाधानका लागि पहल गरिने जनाइएको छ ।
भेरी अस्पतालको आइसियूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न दबाब सिर्जना गर्न एमाले बाँके क्षेत्र–२ का इन्चार्ज पशुपति दयाल मिश्रको संयोजकत्वमा भाष्कर काफ्ले, मोहित शाह, सरोज चौधरीसहितका सदस्य रहनेगरी समिति समेत गठन गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार