Listen LIVE

समस्याग्रस्त पाँचवटा बाघलाई आजीवन कारावास

बर्दिया : विभिन्न समयमा मानिसको ज्यान लिएका ५ वटा समस्याग्रस्त बाघ खोरमा बन्दी जिवन बिताउँदै आएका छन् । दश वर्षयता विभिन्न समयमा लिएको बाघलाई फलामको बलियो खोरमा थुनेर राखिएको छ । थुनामा राखिएको समस्याग्रस्त बाघ आजीवन कारावास सजाय भएको निकुञ्ज प्रशासनले जनाएको छ । थुनामा बसेको बयस्क बाघ निकै आक्रामक भएकोले त्यस क्षेत्र वरिपरि सर्वसाधरणलाई प्रवेश निषेध गरिएको छ । 

थुनामा राखिएको बाघलाई मानिस देख्नासाथ कराउने, आत्तिने र आक्रोशित हुने गरेका कारण प्रवेशमा रोक लगाइएको हो । करिब ६ वर्षअघि गाई, गोरु चराउन मध्यवर्ती क्षेत्रको झाडीमा पुगेका गेरुवा गाउँपालिका–४ राजीपुरका किसानलाई बाघले आक्रमणमा गर्दा ६८ वर्षीय लहानु थारुको मृत्यु भएको थियो । 

उक्त बाघलाई बर्दिया निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीले नियन्त्रणमा लिएको थियो । उक्त बाघलाई पहिचान गर्न राजीपुर लगायत आसपास क्षेत्रमा ट्र्यापिङ क्यामेरा जडान गरिएको थियो । खाता जैविकमार्गस्थित कुशमनिया सामुदायिक वनमा ०७९ साल भदौ २६ गते भैँसी चराउन गएका रामदिन थारु बाघको आक्रमणमा मृत्यु भएको डिभिजन वन कार्यालय, बर्दियाको अभिलेखमा छ ।

उक्त बाघको पहिचान गरी नियन्त्रणमा खोरमा राखिएको छ । ०५६ साल यता बर्दिया निकुञ्ज, मध्यवर्ती क्षेत्र र डिभिजन वन कार्यालय अन्तर्गतका सामुदायिक वनमा बाघको आक्रमणमा ३५ जनाको हालसम्म ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

बाघ क्यामेरामा कैद भएपछि पहिचान गरी नियन्त्रणमा लिई निकुञ्जको मुख्यालय, ठाकुरद्वारास्थित वन्यजन्तु राख्ने थुनामा राखिएको छ । …कैदमा राखिएको बाघलाई सिदा वापत एकदिन बिराएर ७ किलो राँगाको मासु दिने गरिएको निकुञ्जका सूचना अधिकारी वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणी पौडेलले बताए । समस्याग्रस्त बाघ प्राकृतिक वासस्थानमा छाड्न मिल्दैन,Ú उनले भने, …आजीवन खोरमा बस्नुपर्ने हुन्छ । बर्दिया निकुञ्जको मुख्यालयमा २ वटा भाले र रम्मापुर पोष्टमा २ भाले र एक पोथीसहित ५ समस्याग्रस्त बाघ थुनामा राखिएको छ ।Ú

निकुञ्जको खोर भरिएकोले समस्याग्रस्त बाघ अन्य निकुञ्जको खाली भएको खोरमा पठाउनुपर्ने भएको छ । टाडै बाट बाघको नियमित स्वास्थ्य अवस्था वारे जानकारी लिन पशु स्वास्थ्यकर्मीले रेखदेख गर्ने गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्फा हाम्फेले बाघ गम्भीर खालको रोगबाट ग्रसित भयो भने डट गरेर परीक्षण हुने गरेको बताए । डट सधैं गर्न नमिल्ने भएकोले गम्भीर खालको बिरामी भए मात्र डट गरेर उपचार हुने गरेको उनले सुनाए ।

बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१८ मा गरिएको गणनामा ८७ वटा बाघ भेटिएको थियो । हाल यसको संख्या बढेर १ सय २५ पुगेको निकुञ्जले जनाएको छ । पछिल्लो बाघ गणनाको नतिजा साउन महिनामा आउने भएको छ । बर्दिया निकुञ्जमा समस्याग्रस्त एउटा गैंडा १६ वर्षदेखि खोरमा राखिएको छ भने एउटा चितुवा एक वर्षदेखि थुनामा राखिएको छ ।

प्रतिक्रिया