नेपालगञ्ज : काठमाण्डौमा हालै सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर उपविजेता बनेका नेपालगञ्जका सलिम कुरेसीलाई जनता समाजवादी पार्टी बाँकेले सम्मान गरेको छ ।
पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर उपविजेता बनेका कुरेसीलाई जनता समाजवादी पार्टीका महासचिव तथा पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले नगदसहित सम्मान गरे ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव एवं पूर्व मन्त्री राईले खेलमार्फत उत्कृष्ट प्रदर्शन गरेर बाँके जिल्ला र नेपालगञ्जको नाम चम्काउनुका साथै गरिमा बढाउने कार्य गरेकोमा कुरेसीलाई धन्यवाद दिए । उनले खेलकुदको माध्यमबाट आफ्नो नगर र जिल्लाको मात्र नभई देशकै मान बढाउन सकिने भएकोले युवाले खेललाई व्यावसायिक रूपमा अगाडी बढाउनु पर्ने बताए ।
पूर्वमन्त्री राईले स्थानीय सरकारले पनि नेपालगञ्ज र बाँकेका विभिन्न खेलमा लागेका युवालाई अगाडी बढाउने विभिन्न योजना र कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए । सम्मानित भएका शारीरिक सुगठनका खेलाडी कुरेसीले यस्ता सम्मान र पुरस्कारले खेलकुदमा लागेर आफ्नो देशका लागि केही गर्ने उत्साह र हौसला बढाउने गरेको प्रतिक्रिया दिए ।
सो अवसरमा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य आदेश अग्रवाल, जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष दुर्गा प्रसाद बर्मा, समाजवादी युवा सङ्घका जिल्ला अध्यक्ष मोहम्मद अहमद राई लगायतको उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरूले समेत उपविजेता कुरेसीलाई खादा र मालाले सम्मानित गरेका थिए ।
नेपालगञ्जमा रहेको माई फिटनेस जिमका सञ्चालक कुरेसी काठमाण्डौमा हालै सम्पन्न भएको राष्ट्रिय पाँचौँ खुला मिस्टर काठमाण्डौ शारीरिक सुगठन प्रतियोगितामा ओभर अल ओपन वेटमा उपविजेता हुन सफल भएका थिए ।
यस्तै उनी ७० केजी पुरुष मास्टर्स प्रतिस्पर्धामा तेस्रो बन्न सफल भएका थिए । सो प्रतियोगितामा देशभरिबाट २०८ जना खेलाडी सहभागी भएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार