नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा अवस्थित ढकेरी वनस्पति उद्यानले आफ्नो ६६औँ वार्षिकोत्सव तथा २७औँ वनस्पति उद्यान दिवस भव्यरूपमा मनाएको छ । विविध कार्यक्रमका साथ सम्पन्न उक्त समारोहले उद्यानको संरक्षण, विकास र पर्यटन प्रवद्र्धनमा थप ऊर्जा प्रदान गरेको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. ९ का अध्यक्ष सोहनलाल चौधरीले गमलामा जल सेचन गरी समारोहको उदघाटन गरेका थिए । उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले उद्यान क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारमा ध्यान दिनुपर्नेमा जोड दिए । विशेषगरी अव्यवस्थित पार्किङका कारण दुर्घटनाको जोखिम बढ्न सक्ने उल्लेख गर्दै पार्किङ व्यवस्थापन र अधुरो पर्खाल निर्माण कार्यलाई अघि बढाउन प्रदेश सरकारसँग समन्वय गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
वनस्पति उद्यानका वरिष्ठ वैज्ञानिक अधिकृत दिनेश बरालले उद्यानमा हाल ५०० भन्दा बढी वनस्पतिहरू संरक्षण गरिएको जानकारी दिए । उनका अनुसार साइकस, सर्पगन्धा, शक्तिशाली कुरिलो, कुचिल्ला लगायतका महत्वपूर्ण तथा दुर्लभ वनस्पतिहरूको विशेष संरक्षण आवश्यक रहेको छ । साथै, उद्यान अवलोकनका लागि आउने आन्तरिक पर्यटकहरूले स्थानीय बजार तथा व्यवसाय प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै यसले पर्यटन विकासमा सकारात्मक प्रभाव पारेको बताए ।
कार्यक्रममा सहभागी स्थानीय समाजसेवी, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका सदस्य तथा विद्यालयका प्रधानाध्यापकहरूले æढकेरी वनस्पति उद्यान हामी सबैको साझा सम्पत्ति होÆ भन्ने धारणा राख्दै यसको संरक्षण र प्रवद्र्धनमा सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएका थिए ।
उत्सवको अवसरमा उद्यानभित्र उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रमले स्थानीयस्तरमा वनस्पति संरक्षणप्रति जागरूकता अभिवृद्धि गर्नुका साथै उद्यानलाई अझ व्यवस्थित र आकर्षक बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार