Listen LIVE

कोहलपुरमा विद्यालयको वरिपरि मदिरा र सुर्ती बेच्न नपाइने

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका भित्र रहेका विद्यालय क्षेत्रको ५० मिटर वरिपरि मदिरा र सुर्ती बेच्न नपाइने भएको छ ।

नगरपालिकाले ‘कोहलपुर नगरपालिका मदिरा नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९’ लाई अभिभावकको मागपछि कडाइका साथ पालना गर्न सुरु गरेकाले सोही कार्यविधि अनुसार विद्यालय क्षेत्रको ५० मिटर वरिपरि मदिरा र सुर्ती बेच्न नपाइने भएको हो ।

कोहलपुर नगरपालिका उपप्रमुख सङ्गीता सुवेदीले कोहलपुर नगरपालिकामा ८८ वटा विद्यालय रहेको जनाउँदै ती सबै विद्यालयको ५० मिटर वरिपरि मदिरा, सुर्तीजन्य पदार्थ, बिक्री  गर्न नपाउने गरी कडाइ सुरु गरिएको बताइन् ।

उनले पालिकाभित्र रहेका विद्यालय हाताभित्र र बाहिर करिब ५० मिटर कुनै पनि मदिरा तथा सुर्ती बेच्न नपाउने गरी प्रहरीको सहयोग लिएर कडाइ शुरु गरिएको बताइन् ।

पछिल्लो अवस्थामा बालबालिकाहरुले मदिरा, सुर्ती र लागुऔषध प्रयोग गरिरहेको गुनासाहरु बढ्दै गएको र विद्यालयको वरिपरि नै बिक्री गरेको भन्ने सुनिन आएकाले ‘कोहलपुर नगरपालिका मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९’ लाई कडाइका साथ पालना गर्न सुरु गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

उपप्रमुख सुवेदीले उपरोक्त गुनासाहरुका आधारमा मदिरा र सुर्ति बिक्री नियन्त्रण कार्य तत्काल सुरु गर्न लागेको बताउनुभयो । 

उहाँले कार्यविधि अनुसार काम अगाडि बढाउन नगर प्रहरी, नेपाल प्रहरी लगायतलाई अनुरोध गरिसकेको बताइन् ।

कोहलपुर नगरपालिका ३ मा रहेको जनता माविका प्रधानाध्यापक चन्द्रबहादुर खत्रीले विद्यालय वरिपरि रहेका मदिरा तथा सुर्तीका पसलहरुलाई तत्काल बन्द गराउनुपर्ने माग गर्दै त्यसबाट विद्यार्थीलाई निकै नकारात्मक प्रभाव परिरहेको बताए ।

यस्तै सगरमाथा ज्ञानपुञ्ज माविका प्रधानाध्यापक मोहन चौधरीले पनि विद्यालय वरिपरि सय मिटर टाढासम्म मदिरा र सुर्ती बिक्री गर्न नपाइने गरी नियम बनाउनुपर्ने माग गरे ।

यसैगरी जन ज्ञानज्योतिका सहायक प्रधानाध्यापक रामप्रसाद चापागाईं, नेकपा माओवादी केन्द्र कोहलपुरका नगर अध्यक्ष बलबहादुर खड्का अविरल, कोहलपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष चण्डी गैरेलगायतले पनि २०७९ सालमै बनाइएको ‘कोहलपुर नगरपालिका मदिरा नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९’ लाई कडारुपमा कार्यान्वयन गर्न माग गरेका छन् ।

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले विद्यालयको वरिपरि मदिरा तथा सुर्तीको बिक्री रोक्न नगरपालिकाले तयार पारेको कार्यविधिलाई कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता जनाइन् ।

प्रतिक्रिया