नेपालगञ्ज : बाँकेमा सशस्त्र द्वन्द्वकालअघि सात वटा छोटी भन्सार कार्यालय रहेकोमा नयाँ नियमावली अनुसार एउटा मात्रै कायम हुने भएको छ । नेपाल सरकारले वैशाख २१ गते राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार बाँकेमा छोटी भन्सारका रूपमा नरैनापुर मात्रै उल्लेख गरिएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले विगतमा सात वटा छोटी भन्सार कार्यालय रहेकोमा अब एउटा मात्रै कायम भएको बताए ।
उनले भन्सार विभागबाट आवश्यक निर्णय प्राप्त भएपछि नरैनापुरमा भन्सार कार्यालय स्थापनाको प्रक्रिया अघि बढाइने जानकारी दिए । कार्यालय प्रमुख पौडेलले भने, 'भन्सार विभागको केन्द्रीय टोली आउँदै छ, यसबारे थप जानकारी र आवश्यक निर्देशन प्राप्त हुने छ ।' भन्सार कार्यालयका अनुसार नेपालगञ्जमा यसअघि सुइया बघौडा, नरैनापुर, भगवानपुर, खडैचा, भङ्घोटना, साईगाउँ र उढरापुर गरी सात वटा छोटी भन्सार कार्यालय थिए ।
सशस्त्र द्वन्द्वको समयमा असुरक्षा भएपछि छोटी भन्सार कार्यालय हटाइएको हो । तीमध्ये केही भन्सार कार्यालयका भवन जीर्ण भएर भत्किसकेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार