नेपालगञ्ज : लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मातृ तथा बाल स्वास्थ्य सुधारका लागि पोषण विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपालमा लुम्बिनी प्रदेश मातृ तथा बाल मृत्युदर बढी हुने प्रदेशमा पर्छ । त्यही भएर बढ्दो मातृ तथा बाल मृत्युदर घटाउनका लागि विशेष कार्यक्रम चलाउन लागिएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक उमेश गौतमले बताए ।
पोषण समस्या पनि मृत्यु मध्येको एउटा कारण भएकाले अभियान चलाउन लागिएको उनले बताए । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ तथा बाल मृत्युदर भएका ५ जिल्लामा पोषण विषेश कार्यक्रम गर्न लागिएको छ ।
आगामी आर्थिक वर्षदेखि बाँके, बर्दिया, दाङ, रुपन्देही र कपिलवस्तुमा पोषण विशेष कार्यक्रम गर्न लागिएको उनले बताए । त्यसका लागि मन्त्रालयले ८ करोड बजेट नै बिनियोजन गरिसकेको छ ।
पोषण अवस्थामा सुधार एवम् बाल तथा मात्री मृत्युदर घटाउन आज नेपालगन्जमा आयोजित स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग अन्तरक्रिया कार्याशाला गोष्ठीमा सहभागी बक्ताहरुले बालबालिकामा कुपोषणको प्रभाव रोक्न जनस्वास्थ्यका क्रियाकलापलाई बढाउनु पर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब दुर्गालक्ष्मी श्रेष्ठले पोषणमा सुधार ल्याउन प्रदेशले स्थानीय सरकारसंग समन्वय गरेर अगाडि बढ्ने बताइन् । आवश्यकताका आधारमा मन्त्रालयले योजना र बजेटको परिचालन गर्ने पनि उनले बताइन् । कतिपय स्थानीय तहले आधारभूत स्वास्थ्य संस्था राम्रोसंग चलाएको पनि उनले जानकारी गराइन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरी, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारु, पालिकाका सामाजिक विकास समितिका संयोजकहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, स्वास्थ्य शाखाका प्रमुखहरु लगायतले पोषण सुधारमा भइरहेका प्रयासबारे जानकारी गराएको स्वास्थ्य कार्यालय बाँकेक निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले बताए ।
गोष्ठीमा लुम्बिनी प्रदेशका वरिष्ठ नर्सिङ प्रशासक प्रमुख इश्वरी केसीले विषयवस्तु र कार्यक्रमको उद्देश्यबारे जानकारी गराएकी थिइन् भने कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक देवनारायण उपाध्यायले गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार