Listen LIVE

अवैधरुपमा ल्याइएका खसीबोका बाँके प्रहरीको नियन्त्रणमा

नेपालगञ्ज : दसैँको समयमा सीमापारीबाट अवैध आयात बढ्न थालेपछि सक्रियता बढाएको प्रहरीले सोमवार खसी बोकासहित करिब दुई लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिएको छ ।  

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार प्रहरीले भारतबाट अवैध रुपमा चोरी निकासी गरेर भित्र्याइएका १० वटा खसी बोका नेपालगञ्ज १६ बाट र ठुलो परिमाणको मोबाइल चार्जर, पावर बैंक तथा कभर नेपालगञ्ज १० गणेशमान चोकबाट तस्करसहित नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले आइतवार मात्रै २५ हजार रुपैयाँभन्दा बढीको अवैध कुखुरा बारमद गरेकोमा सोमवार खसी बोकासहित एक लाख ८१ हजार ४५० रुपैयाँको अवैध सामान नियन्त्रणमा लिएको बताए । उनले दसैँको बेला खसी बोकालगायत कुखुराको मासुको समेत माग बढ्कोले तस्करी पनि बढेको जनाउँदै प्रहरीले तस्करलाई सफल हुन नदिने बताए । 

नियन्त्रणमा लिएको सामान तथा खसीसहित ओसारपसारमा संलग्न व्यक्ति र प्रयोग गरिएको मोटरसाइकललाई पशु क्वारेन्टाइन कार्यालय तथा भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको प्रहरी प्रवक्ता पातलीले बताए । 

भर्खरै मात्र बाँकेमा सरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले सुरक्षा व्यवस्था कडा पार्न तथा सबै प्रकारका अवैध कार्य निष्तेज गर्न मातहतलाई निर्देशन दिएपछि प्रहरी सक्रियता बढेको पाईएको छ ।

प्रतिक्रिया