Listen LIVE

गतवर्षको तुुलनामा यसवर्ष बाँकेमा मातृशिशु मृत्युदरमा कमी

नेपालगञ्ज : बाँकेमा चालु आर्थिक वर्ष २०८१।०८२ मा १६ जना सुत्केरी र ८८ वटा शिशुको मृत्यु भएको छ । 

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले विभिन्न कारणले जिल्लामा १६ जना सुत्केरी आमा तथा ८८ वटा शिशुको चालु आवमा ज्यान गएको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८१।८२ को हालसम्म सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकामा मातृ मृत्यु संख्या पाँच रहेको छ भने शिशु मृत्यु संख्या ६० रहेको छ । 

यस्तै कोहलपुर नगरपालिकामा मातृ मृत्यु संख्या पाँच र शिशु मृत्यु संख्या २० रहेको छ । राप्तीसोनारीमा मातृ मृत्यु शून्य रहेको छ भने शिशु मृत्यु संख्या १ रहेको छ । 

यसैगरी बैजनाथमा मातृ मृत्यु सख्या १ र शिशु मृत्यु शून्य रहेको छ । खजुरा गाउँपालिकामा मातृ मृत्यु संख्या १ र शिशु मृत्यु शून्य रहेको छ । जानकीमा मातृ मृत्यु संख्या र शिशु मृत्यु संख्या शून्य रहेको छ । 

यस्तै डुडुवामा मातृ मृत्यु संख्या दुई र शिशु मृत्यु संख्या तीन रहेको छ । नरैनापुरमा मातृ मृत्यु संख्या दुई र शिशु मृत्यु संख्या चार रहेको स्वास्थ कार्यालयले जनाएको छ ।

बाँकेमा कुल मातृ मृत्यु संख्या १६ र शिशु मृत्यु संख्या ८८ रहेको देखिएको छ ।

आर्थिक वर्ष २०८०।८१ मा जिल्लामा मातृ मृत्यु संख्या १८ र शिशु मृत्यु संख्या १२७ रहेको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आवमा सो संख्या घटेको देखिन्छ ।

जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार, जिल्लामा आर्थिक वर्ष २०७९।८० मा मातृमृत्यु संख्या १८ थियो भने शिशुमृत्यु संख्या १४२ रहेका थियो । स्वास्थ कार्यालय बाँकेका निमित्त प्रमुख श्रेष्ठले बाँकेमा मातृ शिशु मृत्यु बढी हुनुका विभिन्न कारण रहेको बताए । 

उनले ती कारणमध्ये मातृ शिशुको स्वास्थ्य चेकजाँच नहुँदा तथा उचित पोषण नहुँदा मातृ शिशु मृत्यु हुने गरेको हो । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक उमेश गौतमका अनुसार ६ देखि ५९ महिनाका बालबालिकामध्ये ४३ प्रतिशतमा रक्तअल्पता पाइएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख श्रेष्ठले देशभरमा मातृशिशु मृत्युदर लुम्बिनी प्रदेशमा बढी भएको देखिएको जनाउँदै त्यसमा पनि बाँके र कपिलवस्तुको अवस्था निकै गम्भीर रहेको बताए । स्थानीय तहमध्ये मातृशिशु मृत्युदर बाँकेको नरैनापुर र नेपालगञ्जमा उच्च रहेको छ ।

प्रतिक्रिया