Listen LIVE

सुर्खेतको भेरीगंगामा अवैध संरचना हटाउन डोजर चलाइयो

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाकै सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन डोजर चलाइएको छ ।

ईलाका प्रहरी कार्यालय छिन्चु, भेरीगंगा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको रोहवरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन डोजर चलाउन शुरु गरिएको हो ।

सरकारी जग्गा अतिक्रमण गरी बनाइएका पसल तथा घरटहरा हटाउन पछिल्लो तीन महिनादेखि पटक–पटक सार्वजनिक सूचना जारी गरेपनि अटेरी गरेपछि अवैध संरचना हटाउन सुरु गरिएको भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए । उनले भेरीगंगा नगरपालिका कार्यालय अगाडि अतिक्रमण गरी बनाइएका अवैध संरचनामा डोजर लगाएर हटाउन शुरु गरिएको अभियानलाई पालिकाका सबै वडासम्म पु¥याउने लक्ष्य रहेको जानकारी दिए ।

यता नगरप्रमुख यज्ञप्रसाद ढकालले भेरीगंगा नगरपालिका क्षेत्र भित्रका सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका अवैध संरचनालाई हटाउने अभियानको निर्णय धेरै पहिलेदेखि गरिएपनि कार्यान्वयनमा ढिलाइ हुँदा कार्यपालिका नै सर्वसाधारणबाट आलोचित हुन थालेपछि बाध्य भएर डोजर चलाउनु परेको बताए । उनले नगरको निर्देशनपछि केही घर टहरा धनीले आफ्ना सामान अन्यत्र सार्न थालेपनि करिब दुई दर्जन अटेरीहरूको घरटहरा हटाउन डोजर चलाइएको जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा भेरीगंगा नगरपालिका कार्यालय नजिकका करिब दुई सय घरटहरा हटाइने योजना छ । उता भेरीगंगा नगरपालिकालाई सरकारी जग्गामा बनेका अवैध संरचना हटाउन स्थानीय बासिन्दाले निरन्तर दवाव दिइरहेका छन् । 

विभिन्न बहानामा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेर व्यापार, व्यवसाय र आश्रय स्थल बनाउने कार्यलाई निरन्तरता दिन नहुने स्थानीय बासिन्दाको माग छ । यता सरकारी जग्गा अतिक्रमण गरी व्यापार, व्यवसाय तथा घरटहरा बनाएका नागरिकले भने व्यापार व्यवसाय गर्ने विकल्प दिएर मात्र संरचना हटाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया