Listen LIVE

नेपालगञ्ज नाकाबाट आयात र निर्यात दुबै बढ्यो

नेपालगञ्ज : पश्चिम नेपालकै प्रमुख व्यापारिक नाका नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षमा आयात निर्यात दुबै वृद्धि भएको छ। 

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पवित्र कुमार खड्काका अनुसार यस वर्षको माघ महिनासम्म यो नाकाबाट ४२ अर्ब ३४ करोड ९५ लाख बराबरको सामान आयात भएको छ। 

गत वर्ष सोही अवधिमा ३९ अर्ब ९० करोड ३९ लाख बराबरको सामान आयात भएको थियो। गत वर्षको तुलनामा यो वर्ष हालसम्म २ अर्ब ४४ करोड जति आयात बढेको छ। 

चालु आर्थिक वर्षको सात महिनामा यो नाकाबाट एक अर्ब ५१ करोड ४३ लाख बराबरको सामान निर्यात भएको छ भने गत वर्ष सोही अवधीमा एक अर्ब ३३ करोड ८४ लाख बराबरको सामान निर्यात भएको थियो। 

यो नाकाबाट चालु आर्थिक वर्षमा १७ करोड ५९ लाख भन्दा बढी निर्यात वृद्धि भएको सूचना अधिकारी खड्काले बताए। 

नेपालगञ्ज नाकाबाट सात महिनाको अवधिमा गत आर्थिक वर्षको सोही अवधी भन्दा ६ प्रतिशतले आयात र १३ प्रतिशतले निर्यात वृद्धि भएको उनले बताए। 

चालु आर्थिक वर्षको सात महिनामा निर्यात उल्लेख्य मात्रामा वृद्धि हुनु निकै सकारात्मक पक्ष भएको जनाउँदै सूचना अधिकारी खड्काले मुख्य निर्यात हुने वस्तुमध्ये जडिबुटी लगायतका विभिन्न प्रकारका तेलको समेत निर्यात बृद्धि भएकोले यसबाट आगामी दिनमा निर्यात झन् बढ्ने राम्रो संकेत देखिएको बताए। 

गत सात महिनामा नेपालगन्ज नाकाबाट सबै भन्दा बढी निर्यात हुने वस्तुमा खोटो रोजीन, तार्पिन तेल, काजु, अदुवा, खरेटो–कुचो, बहुमूल्य पत्थर, सिलाजित पेष्ट र सिमेन्ट खैरो रहेको सूचना अधिकारी खड्काले बताए। 

उनले सोही प्रकारले खयर कत्था, वनस्पतिका सारहरु, एसेन्सियल आयल, रिठ्ठा र नौनी बटर घ्युको निर्यात पनि उल्लेख्य रुपमा वृद्धि भएको बताए।

यो नाकाबाट सबैभन्दा बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ, चामल, दलेको र नदलेको दाल, कपडा, मकै लगायतका खाद्यान्न, चिनी, तरकारी तथा फलफूल लगायत विभिन्न मेसिनरीका सामान रहेको भन्सार कार्यालयले जनाएको छ। 

यो नाकाबाट आयात निर्यात दुबै वृद्धि भएकोले नै राजस्व संकलनमा पनि ११ प्रतिशत भन्दा बढी बृद्धि भएको सो कार्यालयले जनाएको छ।

प्रतिक्रिया