Listen LIVE

टरीगाउँ विमानस्थल विस्तारका लागि पच्चिस करोड बजेट

दाङ : दाङको टरीगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि आर्थिक वर्ष २०८३/८४ को बजेटमा २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको विमानस्थलको धावनमार्ग विस्तारका लागि उक्त बजेट विनियोजन गरिएको दाङ निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सांसद कमल सुवेदीले जानकारी दिए । 

हालको ७५० मिटर धावनमार्गलाई विस्तार गरी एक हजार पाँच सय मिटर पु¥याउन उक्त बजेट विनियोजन गरेको उनले बताए । 'यो बजेट विनियोजन भएसँगै टरीगाउँ विमानस्थलमा ठुला जहाज सञ्चालनको आधार तयार भएको छ,' उनले भने, 'धावनमार्ग विस्तार भएपछि ७२ सिट क्षमतासम्मका विमान सञ्चालन गर्न सकिने छ ।' यसले दाङसहित लुम्बिनी प्रदेशका नागरिकलाई हवाईसेवामा सहज पहुँच प्रदान गर्नुका साथै आर्थिक, सामाजिक तथा पर्यटन विकासमा महìवपूर्ण योगदान पुग्ने अपेक्षा आफूले गरेको सांसद सुवेदीले बताए । 

उनले टरिगाउँ विमानस्थल विस्तार दाङवासीको बर्सौंदेखिको सपना भएको उल्लेख गर्दै अब त्यसले मूर्त रूप लिन थालेको बताए । यस्तै विमानस्थल विस्तारले जिल्लाको विकासमा नयाँ अध्याय थप्नेमा आफू विश्वस्त रहेको उनले बताए । 

धावनमार्ग विस्तारपछि ठुला जहाज सञ्चालन हुने अपेक्षासँगै यहाँको व्यापार, पर्यटन, लगानी तथा आवागमनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

यद्यपि टरीगाउँ विमानस्थलको विस्तार तथा स्तरोन्नतिका लागि झन्डै साढे तीन अर्ब रुपियाँ बजेट आवश्यक पर्ने देखिएको छ । टरीगाउँ विमानस्थललाई एक हजार पाँच सय मिटर धावनमार्गसहित स्तरोन्नति गर्ने विषयमा पोखरा विश्वविद्यालयका प्राध्यापक डा. गोविन्द लामिछानेले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँगको सहकार्यमा १५ दिन लगाएर अध्ययन गरेका थिए ।

उनले तयार पारेको 'दाङको टरीगाउँ विमानस्थल स्तरोन्नति अध्ययन प्रतिवेदन' अनुसार विमानस्थल स्तरोन्नतिका लागि तीन अर्ब ४२ करोड २८ लाख ३५ हजार २३० रुपैयाँ आवश्यक पर्ने उल्लेख छ । प्रतिवेदनमा स्तरोन्नतिपछि टरीगाउँ विमानस्थलमा ७२ सिट क्षमताका विमानसमेत अवतरण गर्न सक्ने उल्लेख छ । उक्त अध्ययन प्रतिवेदन डा. लामिछाने नेतृत्वको टोलीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई बुझाएको थियो । 

प्रदेशकै सबैभन्दा पुरानो विमानस्थलका रूपमा चिनिएको टरीगाउँ विमान २०११ सालमा स्थापना भएको थियो । महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक तथा इतिहासविद् डा. सुदीप गौतमका अनुसार दरबारसम्म पहुँच भएका झग्गुप्रसाद देवकोटालगायतले पर्ती डाँडोलाई सम्याएर सेनाको एक टुकडीसमेत ल्याई २०११ सालमा पहिलो पटक यहाँ विमान उतारेका थिए । 

त्यसपछि २०१६ कात्तिकमा गणेशमान श्रेष्ठ यातायातमन्त्री भएका बेला देवकोटाकै पैरवीमा विमानस्थल सञ्चालनमा आएको हो । टरीगाउँमा २०१६ देखि २०४२ सालसम्म नियमित उडान भएको इतिहासविद् गौतमको भनाइ छ । १८ वर्षपछि २०६० सालबाट विमानसेवा पुनः सुरु भयो । यसपछि २०६६ सालसम्म टरीगाउँमा उडान नियमित भएको थियो । कालोपत्रेका लागि पुनः डेढ वर्ष विमानस्थल फेरि बन्द भयो । त्यसपछि २०७९ सालयता भने विमानस्थल सञ्चालन भए पनि तालिका अनुसार नियमित उडान हुन सकेको छैन ।

प्रतिक्रिया