Listen LIVE

भेरी अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबिच नमूना परीक्षण सम्झौता

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्ज र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँबिच मानव सङ्कलित नमूनाको प्रयोगशाला परीक्षणका लागि औपचारिक सम्झौता भएको छ। भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जन राज भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरे।

मानव शरीरमा रोगको पहिचान, रोगको संवेदनशीलता निर्धारण, उपचार तथा रोकथामपछि सुधारको मापन गर्ने तथा विभिन्न रोगहरूको कारण पत्ता लगाउन नमूना परीक्षण अत्यावश्यक मानिन्छ। भेरी अस्पतालमा सबै प्रकारका नमूनाको परीक्षण सेवा उपलब्ध नभएकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँग सहकार्य गरिएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले जानकारी दिए।

डा. सुवेदीका अनुसार, भेरी अस्पतालमा परीक्षण सम्भव नभएका नमुनाहरू भेरीमै सङ्कलन गरी टेकु पठाइनेछ। यसले बिरामीहरूलाई अन्यत्र जानुपर्ने तथा महँगो रकम खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गर्नेछ।

निजी प्रयोगशालामा परीक्षण गराउँदा बिरामीहरूलाई आर्थिक भार पर्नुका साथै समय पनि धेरै खर्चिनुपर्ने भएकाले सरकारी प्रयोगशालासँगको यो सहकार्य बिरामीहरूको हितमा रहेको उनले बताए। नमूना सङ्कलनपछि काठमाडौँ पठाउन चुनौती भएपनि त्यसको व्यवस्थापनका लागि हुलाक कार्यालय र एयरपोर्टसँग समन्वय भइरहेको डा.सुवेदीले जानकारी गराए।

प्रतिक्रिया