नेपालगञ्ज : बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बी एए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ स्थित वन डिभिजन कार्यालय नजिक चार जना पैदलयात्रीलाई ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका अन्दाजी ७ वर्षीय नाति रिहान्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रकाशसिंह कार्कीले जानकारी दिए ।
नातिको जिल्ला अस्पताल बर्दियामा र बाजेको बाँकेको नेपालगंजस्थित नरसिंह होममा उपचारका क्रममा मृत्यु भएको हो । भूमिराजकी श्रीमती ५० वर्षीया सीता लामिछाने र ६५ वर्षीय सूर्य उपाध्याय घाइते छन् । घाइते दुवै जनालाई उपचारका लागि नेपालगन्ज ल्याइएको छ । उनीहरुको सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ । बिहान योग गर्न गइरहेका उनीहरुलाई तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिएको थियो ।
भूमिराज योग गुरू हुन् । उनीसहित ४ जना आइतबार बिहान सवा ५ बजे योग गर्न आयुर्वेद अस्पताल जाँदै थिए । सडक पार गर्ने क्रममा उनीहरूलाई एम्बुलेन्सले ठक्कर दिएको थियो । प्रहरी निरीक्षक कार्कीका अनुसार बाँकेको कोहलपुरबाट बर्दियाको राजापुर तर्फ जाँदै गरेको लुम्बिनी बा– ०–३०५ नम्बरको एम्बुलेन्सले उनीहरू चारै जनालाई ठक्कर दिएको थियो ।
ठक्कर दिने एम्बुलेन्स कोहलपुरको सिर्जनशील टोल विकास संस्थाले सञ्चालन गर्दै आएको थियो । ठक्कर दिँदा एम्बुलेन्समा चालक मात्रै सवार थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार