Listen LIVE

हात्तीको आक्रमणबाट बाँकेमा महावतको मृत्यु

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जको खड्गवार हात्तीसारमा गणेशगज हात्तीले आक्रमण गर्दा हात्तीको स्याहारमा खटिएका कर्मचारी मारिएका छन् । बर्दिया ठाकुरबाबा नगरपालिका–९ घर भई बाँके राष्ट्रिय निकुञ्जको फणित पदमा कार्यरत अन्दाजी ४५ वर्षका आशाराम थारुको घटनास्थलमै मृत्यु भएको वरिष्ठ संरक्षण अधिकृत बीरेन्द्र कँडेलले जानकारी दिए ।

उनका अनुसार खड्वार हात्तीसारमा बुधबार राती ८ः३० बजेतिर घाँस, दाना हाल्ने क्रममा १८ वर्षको गणेशगजले थारुलाई आक्रमण गरेको हो । कँडेलले भने, ‘हात्तीले पहिला सुँढले हानेर त्यसपछि किचेर मार्यो ।’ कार्यालयका अनुसार थारुले २०७३ सालदेखी खड्गवारमा उक्त हात्तीको स्याहार गर्न थालेका हुन् । बाँकेमा २०७३ सालमा यिनै थारुले गणेशगजलाई बर्दियाबाट ल्याएर आएका हुन् । ‘हात्तीलाई मात चढ्यो भने आक्रमण गर्छ, केहीदिन देखी हात्तीको मात चढेको संकेत देखिरहेको थियो,’ प्रमुख कँडेलले भने ‘मात चढेपछि रिसाउने र आक्रमण गर्ने सम्भावना हुन्छ ।’ 

हात्तीको आक्रमणबाट मृत्यु भएका थारुको शव नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखिएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टम पश्चात परिवारलाई बुझाउने तयारी छ । आक्रमणमा संलग्न हात्तीलाई अहिले नियन्त्रणमा राखिएको छ । ‘हात्तीमा मात चढेको हुँदा यसलाई कन्ट्रोल गरेर मात्रै राख्न सक्छौं,’ प्रमुख कँडेलले भने । गणेशगजले यसअघि पनि माउतेलाई आक्रमण गरेको थियो ।

प्रतिक्रिया