Listen LIVE

बाँकेमा ७७५ सवारी दुर्घटना, ५० जनाको मृत्यु

नेपालगञ्ज : बाँकेमा चालु आर्थिक बर्षको हालसम्मको अवधिमा ७७५ वटा सवारी दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार २०८२ साउनदेखि २०८३ जेठ ८ गतेसम्म ७७५ वटा दुर्घटना भएका हुन् । यस अवधिमा सबैभन्दा धेरै असोजमा ११९, कात्तिकमा ११९, मंसीरमा १०१ र पुस महिनामा १११ गरी ४५० वटा सवारी दुर्घटना भएका छन् ।

चालु आर्थिक बर्षको साउन महिनामा ८१, भदौंमा ८६, माघमा ६९, फागुनमा ३३, चैतमा ३३, बैशाखमा २० र जेठ ८ गतेसम्म ३ वटा दुर्घटना भएका छन् भने यस अवधिमा एक हजार १६२ वटा सवारीसाधन दुर्घटनामा संलग्न रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तथ्यांक अनुसार दुर्घटनामा संलग्न सबैभन्दा धेरै ६५७ वटा मोटरसाइकल रहेको देखिन्छ ।

यस अवधिमा १७४ वटा टेम्पो, १०४ शारीरिक शक्तिले चल्ने (रिक्सा, ठेला आदि), ९३ जीप कार, ३८ माइक्रो, ३२ ट्रक ट्यांकर, २५ ट्रयाक्टर, २४ बस, ८ ट्रिपर र १ वटा डोजर दुर्घटनामा संलग्न रहेको ट्राफिक प्रहरीको तथ्यांक छ । कार्यालयका अनुसार यस अवधिमा सवारी दुर्घटनामा परेर ३६ पुरुष, ९ महिला, ५ बालक गरी ५० जनाको मृत्यु भएको छ ।

त्यस्तै दुर्घटनामा १०६ पुरुष, २६ महिला, १२ बालक र ६ जना बालिका गरी १५० जना गम्भीर घाइते भएका छन् भने ७०५ पुरुष, २४५ महिला, १०६ बालक र ४५ जना बालिका गरी एक हजार १०१ जना घाइते भएका छन् । कार्यालयका अनुसार सवारी दुर्घटनामा परेर २ वटा चौपायाको मृत्यु भएको छ भने ७ वटा चौपाया घाइते भएका छन् ।

साथै २०८२ साउनदेखि २०८३ जेठ ८ गतेसम्म १९ हजार ९२७ वटा सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका अनुसार साउन महिनामा सबैभन्दा धेरै दुई हजार ९४७ वटा सवारीसाधन कारबाहीमा परेका छन् । यस्तै भदौ महिनामा दुई हजार ४४, असोजमा ८८२, कात्तिकमा एक हजार ४९१ र मंसीर महिनामा दुई हजार ३०७ वटा सवारीसाधन कारबाहीमा परेका छन् ।

त्यसैगरी पुसमा दुई हजार १५०, माघमा दुई हजार २०५, फागुनमा एक हजार ६४१, चैतमा एक हजार ७८१, बैशाखमा दुई हजार ७८ र २०८३ जेठ ८ गतेसम्म ४०१ वटा सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार ट्राफिक नियम विपरित सञ्चालन गरिएका सवारी साधन कारवाहीमा परेका हुन् ।

प्रतिक्रिया