Listen LIVE

जथाभावी ठेक्काका कारण दायित्व बढ्दै

बर्दिया : सार्वजनिक खरिद नियमावलीमा ठेक्का सम्झौताको रकम सुनिश्चित् नभएसम्म ठेक्का खोल्न नपाइने व्यवस्था उल्लेख गरिए पनि बर्दियाको बढैयाताल गाउँपालिकाले जथाभावी ठेक्का खोल्दा ३४ करोड रुपैयाँ दायित्व सिर्जना भएको छ । आर्थिक वर्ष २०८०/८१ मा बढैयाताल गाउँपालिकाले १० वटा सडकको जथाभावी ठेक्का आह्वान गरेर सम्झौता गरेपछि अहिले गाउँपालिकाको यस आवका लागि ३४ करोड रुपैयाँ भुक्तानी दिन दायित्व सर्ने भएको हो ।

आव २०८०/८१ मा गाउँपालिकाले करिब ६२ करोड रुपैयाँ बराबरको सडक निर्माणका लागि ठेक्का आह्वान गरेको थियो भने कतिपय निर्माण व्यवसायीले काम सम्पन्न गर्दासमेत पालिकाले हालसम्म पनि भुक्तानी दिन सकेको छैन । 

गाउँपालिकाका जनप्रतिनिधिले जथाभावी काम देखाउनका लागि सडक कालोपत्रेदेखि अन्य कामको ठेक्का आह्वान गरेको थियो । कार्यालयका कर्मचारीले ठेक्का सम्झौतामा केही रकम पाउने आसमा रकमबिना नै उधारो ठेक्का खोलेको देखिन्छ । बढैयाताल गाउँपालिकाको वार्षिक बजेटमा सबै खर्च कटाएर गाउँपालिका ठेक्का खोल्न पाउने रकम आठ करोड रुपियाँ जति मात्र भए पनि गाउँपालिकाले आव २०८०/८१ मा एकै पटक करिब ६२ करोडको १० वटा सडक निर्माणका ठेक्का नै उधारोमा खोलिदिएपछि आव २०८२/८३ मा ३४ करोड रुपियाँ दायित्व भुक्तानी गर्नुपर्ने देखिन्छ । 

हाल ३४ करोड रुपैयाँ दायित्व देखिए पनि गत आवबाट अलिकति रकम बच्न सक्ने र त्यो भुक्तानी हुँदा पनि २४/२५ करोडभन्दा बढी दायित्व २०८२/८३ मा सरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण त्रिपाठीले बताए । बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले पालिकाको दायित्व बढ्दै गएको स्वीकार गरे । 

उधारो ठेक्का गरेका कारण पालिकाले सम्पन्न भएको कामको भुक्तानीसमेत दिन सकेको छैन । गाउँपालिकामा रकम सुनिश्चित नभईकन ठेक्का सञ्चालन गर्दा निर्माण व्यवसायीको बिचल्ली भएको र काम गरेको पैसासमेत निर्माण व्यवसायीले नपाएको निर्माण व्यवसायी सङ्घ बर्दियाका सल्लाहकार कृष्ण पोख्रेलले बताए ।

गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर आव २०८०/८१ मा रकमबिना नै ठेक्का खोलिएको स्वीकार गर्दै बढैयाताल गाउँपालिका–८ का वडाध्यक्ष तेजनाथ पौडेलले गाउँपालिकाले ३४ करोड रुपैयाँभन्दा बढी दायित्व तिर्नुपर्ने अवस्था आएको बताए । 

आफ्नै कार्यकालमा काम देखाउने होडबाजी र कर्मचारीको पनि नियत खराब भएका कारण रकमको सुनिश्चितबिना ठेक्का आह्वान गरेको प्रष्ट देखिएको उनले बताए ।

प्रतिक्रिया