नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट पारित भएको छ । नगरसभाको १७औँ अधिवेशनको दोस्रो बैठकबाट १ अर्ब ६४ करोड बराबरको बजेट सर्वसम्मत पारित भएको हो ।
सभा अध्यक्ष एवम् मेयर प्रशान्त विष्टले बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८२/८३ को वार्षिक राजश्व र व्ययको अनुमान (बजेट) स्वीकृतिका लागि पेश गरेका थिए ।
त्यसअघि नगरसभाको १७औँ अधिवेशनको दोस्रो बैठकबाटै नीति तथा कार्यक्रम पनि पारित भएको छ । नेपालगञ्ज १४ भवानियापुरस्थित नेपालगञ्ज सिटी हलमा आज बसेको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, मर्मत सम्भार विधेयक २०८१, प्रज्ञा प्रतिष्ठान विधेयक २०८२ स्वीकृतिका लागि पेश गरिएकोमा सर्वसम्मत पारित भएको सभा सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए ।
नगरसभाको दोस्रो बैठकले नगर कार्यपालिकाका निर्णयहरू समेत अनुमोदन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८०/८१ को मलेप प्रतिवेदन पनि छलफलका लागि पेश गरिएको थियो । बैठकमा सभा सदस्यहरुले विभिन्न विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले गत असार १० गते बसेको नगरसभाको १७औँ अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि बजेट पेश गरेका थिए । राईले १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसा बराबरको अनुमानित आयव्यय विवरण पेश गरेका थिए । उक्त बैठकमै त्यसअघि सभा अध्यक्ष एवम् मेयर विष्टले नीति तथा कार्यक्रम पेश गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार