जानकी (बाँके) : स्थानीय तहबाट प्रदान गरिने बाल संरक्षण सेवा तथा बालअधिकार संरक्षणलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले जानकी गाउँपालिकामा सञ्चालन गरिएको तीनदिने बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली सम्बन्धी तालिम सम्पन्न भएको छ।
जानकी गाउँपालिकाको आयोजना तथा वल्र्ड भिजनको सहयोगमा आयोजित उक्त तालिममा स्थानीय सरकारका बालअधिकार समितिका पदाधिकारी, बाल संरक्षणका क्षेत्रमा कार्यरत सरोकारवाला निकायका प्रतिनिधि तथा समुदायस्तरका विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो।
तालिममा प्रशिक्षक प्रकाश उपाध्यायले बाल संरक्षण प्रणालीको विकास, बालअधिकारसम्बन्धी कानुनी तथा संस्थागत व्यवस्था, बाल संरक्षण घटनाको व्यवस्थापन, बाल संरक्षण सूचना व्यवस्थापन प्रणालीको प्रयोग तथा बाल संरक्षण सेवासम्बन्धी विविध विषयमा सहजीकरण गरेका थिए।
कार्यक्रममा बाल संरक्षणसँग सम्बन्धित घटनाको प्रभावकारी अभिलेखीकरण, तथ्यांक व्यवस्थापन, सेवा प्रवाह तथा समन्वयलाई थप सुदृढ बनाउन सूचना व्यवस्थापन प्रणालीको महत्वपूर्ण भूमिका रहने विषयमा जोड दिइएको थियो। आयोजकका अनुसार यस तालिमले बाल संरक्षणका घटनाहरूको समयमै पहिचान, अभिलेखीकरण तथा आवश्यक सेवा उपलब्ध गराउन स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
जानकी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष चण्डिका प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक राम अचल धोबी, विपद् व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंहलगायत जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
तालिममा गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाह, बाल क्लबका पदाधिकारी, वडा सचिव, शिक्षक, समाजसेवी, सञ्चारकर्मी तथा जनप्रतिनिधिसहित ३० जना प्रशिक्षार्थी सहभागी भएका थिए।
स्थानीयस्तरमै बालअधिकार संरक्षणका संयन्त्रलाई सुदृढ बनाउने तथा बालमैत्री सेवा प्रवाहलाई संस्थागत गर्ने लक्ष्यसहित सञ्चालन गरिएको उक्त तालिम सहभागीहरूका लागि उपयोगी तथा उपलब्धिमूलक भएको जनाइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार