Listen LIVE

बैजनाथमा शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार

बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिकाको शिक्षा क्षेत्रमा पछिल्लो एक वर्षमा उल्लेखनीय सुधार र नयाँ अभ्यासहरू शुरु भएका छन् । शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकाल ले बैजनाथमा सरुवा भएर आएको एक वर्ष पूरा भएको अवसरमा आफ्नो कार्यकालमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै शिक्षा क्षेत्रमा सुधारका लागि थुप्रै योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिएको बताएका छन् ।

उनका अनुसार विद्यालय व्यवस्थापन, शिक्षक परिचालन, प्रविधिमैत्री शिक्षा, छात्रवृत्ति, शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीमैत्री वातावरण निर्माणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन् ।

शिक्षा शाखाले सबैभन्दा पहिले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा योग्यता पुगेका स्थायी शिक्षकहरूको विवादरहित सरुवा गरी प्रधानाध्यापक व्यवस्थापन गरेको थियो। यसले विद्यालय प्रशासनलाई व्यवस्थित बनाउन सहयोग पुगेको बताइएको छ । विद्यालयहरूको भौतिक वातावरण आकर्षक बनाउन रङ्गरोगन कार्य सम्पन्न गरिएको छ भने 'एक विद्यालय, एक फूलबारी' कार्यक्रम लागू गरी सबै विद्यालयमा फूलबारी निर्माण गरिएको छ ।

बैजनाथका माध्यमिक विद्यालयहरूमा डिजिटल शिक्षणलाई प्रवद्र्धन गर्न स्मार्ट बोर्ड जडान गरिएको छ । यसले प्रविधिमार्फत पठनपाठनलाई थप प्रभावकारी बनाएको शिक्षा शाखाको दाबी छ । शिक्षक छनोट प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन विषयविज्ञहरूको सूची तयार गरिएको छ भने विभिन्न विषयका प्रश्न बैंक निर्माण गरी परीक्षा प्रणालीलाई समेत व्यवस्थित बनाइएको छ ।

शिक्षक अभावका कारण विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले ७० जना स्वयंसेवक शिक्षक सूचीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । सुत्केरी बिदा, अध्ययन बिदा, दुर्घटना वा अन्य कारणले शिक्षक लामो समय विद्यालयमा अनुपस्थित हुँदा स्वयंसेवक शिक्षक परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी गरिब, जेहेन्दार, टुहुरा तथा अनाथ विद्यार्थीहरूको शैक्षिक भविष्य सुरक्षित गर्न गाउँपालिका आफैं अभिभावक बन्ने गरी æछात्रवृत्ति बैंकÆ स्थापना गरिएको छ । यो कार्यक्रमलाई स्थानीय तहकै नमुना कार्यक्रमका रूपमा हेरिएको छ ।

स्थानीय इतिहास, संस्कृति, भूगोल तथा सामाजिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ७ सम्मका लागि æहाम्रो बैजनाथÆ नामक स्थानीय पाठ्यपुस्तक तयार पारिएको छ । यसले विद्यार्थीहरूलाई आफ्नो गाउँपालिकाबारे नजिकबाट बुझ्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

विद्यालय सञ्चालन तथा व्यवस्थापन खर्च अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले वृद्धि गरिएको छ । शिक्षक अभाव न्यूनीकरण गर्न करिब १३ वटा नयाँ दरबन्दी सिर्जना गरिएको छ । साथै प्रधानाध्यापक तथा शिक्षकहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक तथा अवलोकन भ्रमणमा सहभागी गराउने अभ्यासको समेत सुरुवात गरिएको छ ।

विद्यालयमा राष्ट्रिय झण्डा, विद्यालय झण्डा तथा सदन झण्डा अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था लागू गरिएको छ । प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई विद्यालय पोशाक, कोट, टाई र टोपीसहित अनुशासित रूपमा विद्यालय उपस्थित हुने संस्कृतिको विकास गर्न थालिएको छ ।

संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूको न्यूनतम तलब श्रम ऐनअनुसार मासिक १९ हजार ५५० रुपैयाँ कायम गरी सो रकम शिक्षकको बैंक खातामा पठाउनुपर्ने व्यवस्था गरिएको छ । यसले निजी विद्यालयका शिक्षकहरूको पेशागत सुरक्षा बढाएको बताइएको छ ।

विद्यालयमा ई–हाजिरी प्रणाली लागू गरिएको छ । कक्षा १ देखि ७ र कक्षा ९ का आन्तरिक परीक्षा पालिकास्तरबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ भने कक्षा ५ को परीक्षासमेत पालिकास्तरबाट सञ्चालन गर्ने नयाँ अभ्यास सुरु गरिएको छ ।

शैक्षिक गुणस्तर कमजोर भएका विद्यालयहरूमा विशेष सुधार अभियान सञ्चालन गरिएको छ । विषयगत समिति गठन गरी विद्यालयहरूबीच असल अभ्यास आदानप्रदान गर्ने कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ । विद्यार्थी अभिलेख, निरन्तर मूल्याङ्कन पुस्तिका, बालमैत्री डेस्क–बेन्च, खेलकुद सामग्री तथा लगबुक कार्यक्रमसमेत लागू गरिएको छ ।

एक वर्षे कार्यकालको समीक्षा गर्दै शिक्षा प्रमुख ढकालले प्राप्त उपलब्धि व्यक्तिगत नभई सामूहिक प्रयासको परिणाम भएको बताएका छन् । उनले गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, शिक्षक, अभिभावक, पत्रकार तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन् ।

उनले आगामी वर्ष अझ प्रभावकारी योजना र नवीन कार्यक्रमसहित शिक्षा क्षेत्रको सुधार अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । बैजनाथ गाउँपालिकामा शिक्षा सुधारका लागि गरिएको यो एक वर्षे प्रयासलाई स्थानीय स्तरमा सकारात्मक परिवर्तनको आधारका रूपमा हेरिएको छ ।

प्रतिक्रिया