Listen LIVE

नेपालगञ्जका सडकमा तरकारीको ब्यापार, सर्वसाधारणलाई सास्ती

यदुराज मिश्र/नेपालगञ्ज : नेपालगञ्जको रानी तलाउ सब्जीमण्डी अगाडीको सडकनै अवरुद्ध गर्ने गरि तरकारीको पसल राख्दा सर्वसाधारणलाई आउजाउमा समस्या हुने गरेको छ । दिउँसोको समयमा खाली भएपनि बेलुकीपख सर्वसाधारणलाई आउजाउ गर्न नमिल्ने गरि भारतीयहरुले तरकारीको पसल राख्ने गरेको सर्वसाधारणले गुनासो गरेका छन् ।

सडक अवरुद्ध गर्ने गरि तरकारीको पसल राख्दासमेत नेपालगञ्जका नगर प्रहरी मुक दर्शक भएर बस्ने गरेको नेपालगञ्ज उपमहानगरपालिका ८ का रमेश बाल्मिकीले बताए । उनले सडक ढाकिने गरि तरकारी पसल थाप्नेमध्ये अधिकांश भारतीय भएको बताए । ‘सवारी साधनबाट आउजाउ गर्न सक्ने त परको कुरा भयो पैदल हिँड्नसमेत मुस्किल पर्छ,’ उनले भने, ‘सडक जाम हुने गरि तरकारी पसल थाप्दासमेत नेपालगञ्ज उपमहानगरका नगर प्रहरी मुक दर्शक भएर बस्छन् र भिड्भाड हुने समयमा ड्यूटी नै गर्दैनन् ।’

रानी तलाउ आसपास क्षेत्रमा सिमित भारतीय तरकारी ब्यापारी सर्दासर्दै त्रिभुवन चोक पुग्न थालेका छन् । सडक पेटी र ठेलामा तरकारी राखेर विक्री गरेकै कारण पैदल यात्रीलाई हिड्डुल गर्न समस्या भएको नेपालगञ्ज उपमहानगरपालिका ५ का सलाउद्दिन जसगढले बताए । ‘सडक पेटीमा तरकारीको ब्यापार त भइरहेको छ नै बिच सडकमा ठेला तेस्याउँदा समेत नगर प्रहरीहरु केहि बोल्दैनन् । सडक जाम हुने गरि तरकारी नराख भन्दा उल्टै झगडा गर्छन्,’ उनले भने ।

उनले सडक पेटी र सडक ढाकिने गरि राखिएका तरकारी पसललाई उपमहानगरले हटाउनु पर्ने बताए । ‘अब्यवस्थित तरकारी मण्डीलाई ब्यवस्थित गर्ने जिम्मेवारी उपमहानगरको हो, तर यसतर्फ उपमहानगरले कुनै चासो दिएको छैन,’ उनले भने, ‘यसरी राख्न दिने हो भने दुई–चार हप्तापछि त्रिभुवन चोकको वरिपरि नराख्लान भन्न सकिन्न ।’

सडक पेटी र सडकमा ठेला लगाएर तरकारी राख्नेहरुसँग नगर प्रहरी मिलेको सर्वसाधारणले आरोप समेत लगाएका छन् । सब्जी मण्डी क्षेत्रमा खटिने नगर प्रहरीले ति ब्यापारीसँग सित्तैमा तरकारी लैजाने गरेको एक तरकारी ब्यापारीले बताए । ‘हामीलाई सडक पेटीमा तरकारीको ब्यापार गर्न दिएको नाममा नगर प्रहरीले पैँसा नतिरेर मन परेको तरकारी लैजान्छन्,’ नाम उल्लेख नगर्ने शर्तमा एक ब्यापारीले भने ।

नगर प्रहरी मिलेकै कारण तरकारी ब्यापारीहरु सडक पेटीमा बस्न पाएको नेपालगञ्ज उपमहानगरपालिका ७ का दिनेश बर्माले बताए । उनले सडक पेटीमा तरकारीको ब्यापार गर्ने कार्य तत्काल रोक्न माग गरेका छन् । ‘सब्जी मण्डी हुँदाहुँदै सडक पेटी र सडकमै तरकारी विक्री गर्न दिनु भनेको उपमहानगरको कमजोरी हो । यो तत्काल रोक्नु पर्छ,’ उनले भने ।

सडक पेटी र सडकमा तरकारी पसल राखेका कारण रानीतलाउ सब्जी मण्डीका ब्यापारी मार्कामा परेका छन् । पहिले सब्जी मण्डी भित्रमात्र तरकारी विक्री हुँदै आएको थियो । नगर प्रहरीलाई प्रभावमा पारेर भारतीय ब्यापारीहरु सडकमा तरकारी पसल राख्न थालेको रानी तलाउ सब्जी मण्डीका एक ब्यापारीले गुनासो गरे । ‘सडक पेटीमा तरकारीको ब्यापार हुन थालेपछि सब्जी मण्डीभित्र कोही पनि आउँदैनन् । यस्तै रहिरह्यो भने हामी पनि सडकमा जानुको विकल्प छैन,’ ति ब्यापारीले भने ।

प्रतिक्रिया