नेपालगञ्ज : सुरक्षा निकायलगायत सबैको ध्यान निर्वाचनको तयारी र कार्यक्रममा रहेको बेला बाँकेको सीमावर्ती क्षेत्रमा अवैध आयात र चोरी तस्करी बढ्दैगएको छ ।
निर्वाचनको समयमा सरकारका सबै निकाय निर्वाचनमा केन्द्रित हुनेगरेको हुँदा अवैध आयात र चोरी तस्करी बढ्ने गरेको पाइएको छ । सोहीक्रममा सशस्त्र प्रहरीले जिल्लाको पूर्वी क्षेत्रमा पर्ने नरैनापुर क्षेत्रबाट अवैध रुपमा चोरी तस्करी गरेर भारतबाट ल्याइएको १५ लाख रुपैयाँ बराबरको २३ बोरा सुर्ती र ट्याक्टर नियन्त्रणमा लिएको छ ।
नरैनापुर गाउँपालिका –२ लक्ष्मणपुर गाउँमा सशस्त्र प्रहरीले रातिको समयमा अवैध रूपमा ट्याक्टरमा लोड गरेर २३ बोरा सुर्ती नेपाल ल्याउँदै गरेको अवस्थामा अवैध सामानसहित ट्याक्टरलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म नरैनापुरका प्रमुख प्रहरी नायब उपरीक्षक तेजराज शर्माले बताए ।
उनले नरैनापुर क्षेत्रमा नियमित सुरक्षा गस्ती तथा चेकजाँचका क्रममा प्रहरीले अवैध सुर्ती ल्याउँदै गरेको ट्याक्टरलाई निगरानीमा लिएर नियन्त्रणमा लिएको जनाउँदै घटनास्थलमा खटिएको सशस्त्र प्रहरी टोलीलाई ट्याक्टर चालकले देख्नेबित्तिकै गाडी छोडेर फरार भएको बताए ।
सो प्रहरी टोलीले ट्याक्टर नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाउँदै नियन्त्रणमा लिइएको ट्याक्टरमा गाडी नम्बर उल्लेख नभएको जनाइएको छ । ट्याक्टरमा लोड गरिएको २३ बोरा अवैध सुर्ती र ट्याक्टरलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद साहले बाँकेको दक्षिणतर्फको सीमावर्ती क्षेत्रमा अवैध कारोबार भइरहेको सूचनाका आधारमा सामान बरामद गरिएको जनाउँदै सीमानामा नेपाल प्रहरी, सशस्त्र प्रहरीको सक्रियता बढाउन सुझाव दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार