सुर्खेत : जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको सांस्कृतिक अस्तित्व र जनजीवन असुरक्षित हुन थालेको छ । बाह्य समाजमा घुलमिल हुन थालेपछि उनीहरूको सांस्कृतिक अस्तित्व र जनजीवन असुरक्षित हुन थालेको हो ।
अहिले राउटे समुदाय वीरेन्द्रनगर नगरपालिका–१३ को चन्द्रपुर जङ्गलमा बस्दै आएका छन् । उनीहरूको अवस्था जोखिममा पर्न थालेपछि राउटे बस्तीमा सुरक्षाको माग गरिएको छ । राउटे समुदायका शिक्षक दुर्गा खड्काले बाह्य समाजमा घुलमिल हुन थालेपछि राउटे असुरक्षित र जोखिममा पर्न थालेकाले राउटे बस्तीमा दिनभर नजिकैको प्रहरी पोस्टबाट सुरक्षा दिनुपर्ने तत्काल आवश्यकता रहेको जनाए ।
विभिन्न सहयोग गर्ने नाममा र अन्य गतिविधिका लागि राउटे बस्तीमा पुगी अवाञ्छित गतिविधि गर्ने क्रम बढेपछि राउटेहरू असुरक्षित हुन थालेको उनको भनाइ छ । राउटे समुदाय सोझो समुदाय भएकाले पैसा पाउने लोभमा सहजै जे पनि गर्ने हुँदा र त्यसको फाइदा अरूले उठाउन खोजेपछि असुरक्षा बढ्दै गएको हो । राउटेहरू जहाँ बस्ती सर्छन्, त्यहीँ नजिकको प्रहरीबाट सुरक्षा व्यवस्था मिलाइदिन राउटे समुदायका शिक्षक खड्काले आग्रह गरे ।
पछिल्ला वर्षमा राउटे युवायुवतीसँग फोटो खिच्ने, टिकटक बनाउने जस्ता गतिविधि बढ्न थालेका छन् । राउटे समुदायलाई नागरिकता प्रदान गरेको दैलेखको गुराँस गाउँपालिका–८ का वडा अध्यक्ष दीपेन्द्र वलीले अहिले राउटेलाई परिवर्तन गर्ने लहर चलेकामा अपात्ति जनाउँदै उनीहरूलाई राउटेकै रूपमा रहन दिन आग्रह गरे ।
पहिले बाह्य समाजभन्दा अलग्गै जङ्गलका बिचमा बस्ने, पैसा छोए पाप लाग्छ र बाह्य मानिससँग बोल्न गाह्रो मान्ने राउटे समुदाय अहिले सहरबजार नजिकका गाउँमा बस्न थालेका छन् । हाकाहाकी पैसा माग्ने गर्छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार