दाङ : दाङमा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या बर्षेनि बढ्दै गएको पाइएको छ । जिल्लामा २०८० सालमा चार सय चार जना एचआइभी सङ्क्रमित रहेकोमा अहिले बढेर चार सय ३७ पुगेको छ ।
समुदायस्तरा एचआइभी सङ्क्रमित पहिचान गर्न थालिएसँगै जिल्लामा सङ्क्रमित थपिने क्रम बढेको छ । यो वर्ष ३३ जना नयाँ सङ्क्रमित फेला परेका छन् । अघिल्लो वर्ष ४३ जना एचआइभीका नयाँ बिरामी थपिएका थिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा दुई सय ८५ जना र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको एआरटी सेन्टरबाट एक सय ५२ जना एचआइभी सङ्क्रमितले उपचार गराउँदै आएका छन् ।
एचआइभी सङ्क्रमणको उच्च जोखिममा इन्जेक्सन प्रयोग गरेर लागूऔषध प्रयोग गर्नेदेखि यौनकर्मी, तेस्रो लिङ्गी, रोजगारीका लागि विदेश गएर फर्किएकाहरू रहेका छन् । दुवै एआरटी सेन्टरबाट पहिचान भई औषधी सेवन गरिरहेका एचआइभी सङ्क्रमितहरूमा सबैभन्दा धेरै घोराहीका रहेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको एआरटी सेन्टरकी काउन्सिलर तारा बिसीका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा गएकाहरू धेरै एचआइभी सङ्क्रमण देखिने गरेको छ ।
वैदेशिक रोजगारीमा गएर फर्किएका एक सय ५० जना एचआइभी सङ्क्रमित भएका छन् । जसमध्ये सबैभन्दा धेरै भारतमा काम गर्ने रहेका छन् ।
उमेर समूहका आधारमा १५ वर्षदेखि माथि उमेर समूहका एक सय ३७ जना महिला र एक सय २९ जना पुरुषसँगै सात सात जना तेस्रो लिङ्गी रहेका छन् । १५ वर्षमुनि उमेर समूहका चार जना महिला र आठ जना पुरुष रहेका छन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको एआरटी सेन्टरबाट पहिचान भएका एक सय ५२ जनामध्ये तुलसीपुरका सबैभन्दा धेरै छन् ।
तुलसीपुरका ८३ जना, शान्तिनगरका १५ जना, बबईका २३ जना, दंगीशरणका १० जना, लमहीका दुई जना, घोराहीका १० जना, जिल्ला बाहिरका नौ जनाले उपचार सेवा लिइरहेका एआरटी काउन्सिलर प्रमीला लामिछानेले जानकारी दिए ।
उनका अनुसार १५ वर्षदेखि माथि उमेर समूहका ७४ जना पुरुष, ७४ जना महिला, १५ वर्षमुनि उमेर समूहका तीन बालिका र एक बालक रहेका छन् । एचआइभी पहिचान भएका सबै सङ्क्रमितहरूले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र प्रादेशिक अस्पताल तुलसीपुरबाट एआरटी औषधी सेवन गरिरहेका छन् ।
अस्पताल आउनेहरूमाथि शङ्का लागेमा एचआइभी प्रि र पोष्ट टेस्ट, काउन्सिल, औषधी सबै निःशुल्क उपलब्ध हुने गरेको छ । पहिचान भएका बिरामीलाई सचेत गराउँदै आउने दिनमा हुने थप जोखिम कम गर्न निरन्तर काउन्सिलिङ गर्ने गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एआरटी काउन्सिलर बिसीले बताए ।
यसैबिच ३७ औँ विश्व एड्स दिवसका अवसरमा घोराहीमा प्रभातफेरीको आयोजना गरिएको छ । स्वास्थ्य कार्यालय दाङ, घोराही उपमहानगरपालिकालगायत एचआइभी एड्सका क्षेत्रमा क्रियाशील विभिन्न संघसस्थाको सहयोगमा एचआइभी एड्ससम्बन्धी लेखिएका सचेतना मूलक नारासहित घोराही उपमहानगरपालिकाको गेटबाट सुरु भएर बजारको परिक्रममा गर्दै स्वास्थ्य कार्यालय पुगेर सकिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार