Listen LIVE

भेरी अस्पतालका चिकित्सक काममा फर्किए

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काममा फर्किएका छन् । चिकित्सकहरूमाथि भएको दुव्र्यवहार र आक्रमण प्रयासको घटनापछि इमरजेन्सी बाहेकका सेवा ठप्प पार्दै आन्दोलनमा उत्रिएका उनीहरू प्रशासनबाट एक जना संलग्न व्यक्ति पक्राउ परेको जानकारी पाएपछि पुनः ड्युटीमा फर्किन लागेका हुन् ।

अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार हाल चिकित्सक र स्वास्थ्यकर्मीहरू नियमित सेवामा फर्कने क्रममा रहेका छन् । घटनापछि आन्दोलित भएका स्वास्थ्यकर्मीहरू काममा फर्किए पनि अस्पतालले केही महत्वपूर्ण मागहरू अघि सारेको छ ।

अस्पतालले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन २०७९) अनुसार दोषीमाथि कडा कारबाही गर्न, घटनामा संलग्न अन्य व्यक्तिहरूलाई २४ घण्टाभित्र पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन, सामाजिक सञ्जालमा राखिएका गाली–गलौजका भिडियोहरू हटाउन तथा अस्पताल परिसरभित्र फोटो, भिडियो खिच्न अस्पताल प्रशासनको स्वीकृति अनिवार्य लिनुपर्ने भनेको छ ।

अस्पतालले यी मागहरू पूरा नभए पुनः आन्दोलनमा उत्रिने चेतावनी पनि दिएको छ । मंगलबारदेखि ओपीडी लगायतका सेवा ठप्प हुँदा पश्चिम नेपालको प्रमुख स्वास्थ्य केन्द्रका रूपमा चिनिने भेरी अस्पतालमा उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका थिए ।

प्रतिक्रिया