Listen LIVE

नेपाल भारत सम्बन्ध थप बलियो बनाउन दुबै देशका पत्रकारको जोड

नेपालगञ्ज : नेपाल र भारतका पत्रकारबिच भाषिक पत्रकारिता सम्बन्धि विचार गोष्ठी भारतको नानपारामा सम्पन्न भएको छ । 

भारतमा हिन्दी भाषा पत्रकारिता सुरु भएको २०० वर्ष पूरा भएको अवसरमा उत्तर प्रदेशको बहराइच जिल्लाको नानपारामा सम्पन्न नेपाल र भारतका पत्रकार गोष्ठीमा भाषिक पत्रकारिता, सीमा समस्या, सञ्चारमाध्यमको बद्लिँदो परिवेश र सामाजिक चासोका विषयमा अन्तर्राष्ट्रिय संवाद भएको हो । नानपाराका विधायक रामनिवास वर्माले गोष्ठीको उदघाटन गर्दै नेपाल र भारतबिचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई जोड दिँदै दुई देशबिचको रोटीबेटी सम्बन्ध शताब्दीयौंदेखि चलिआएको बताए । 

उनले अंग्रेज शासनकालदेखि आजसम्म समाजलाई सचेत गराउन र सही दिशा दिन पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरे । बलहाका ब्लाक प्रमुख प्रतिनिधि कृपाराम वर्मा र विधायक प्रतिनिधि आलोक जिन्दलले दुई देशको सम्बन्ध जोड्न पत्रकारिताको भूमिका महत्त्वपूर्ण भएको बताए ।

नेपाल भारत संयुक्त पत्रकार मञ्च नेपाल समूहका संयोजक वरिष्ठ पत्रकार पूर्णलाल चुकेले यस्ता गोष्ठी र सम्वादले दुई देशका पत्रकारबिच आपसी समझदारी, सहयोग र विश्वासलाई मजबुत बनाउने बताए । 

कार्यक्रममा भारतीय वरिष्ठ पत्रकार अशोक उपाध्याय, भागवत शुक्ला, अजय शर्मा, मणिराम शर्मा, ताहिर हुसेन, राजीव शर्मा, सन्तोष शुक्ला लगायतले भारत र नेपालबिचको सांस्कृतिक सम्बन्धलाई पत्रकारिताले मजबुत बनाएको दाबी गरेका थिए ।

कार्यक्रमका निर्देशक विनोद द्विवेदीले हिन्दी पत्रकारिताको इतिहासमा प्रकाश पार्दै पहिलो हिन्दी पत्रिका उदन्त मार्तण्डु रहेको जानकारी दिऐ । सो पत्रिका पण्डित जुगलकिशोर शुक्लाले ३० मे १८२६ मा कोलकात्ताबाट पत्रिका प्रकाशित गरेका थिए । 

त्यही ऐतिहासिक शुरुवातका कारण हरेक वर्ष मे ३० तारिखमा हिन्दी पत्रकारिता दिवस मनाइँदै आएको र अब यो गौरवशाली परम्पराको २०० वर्ष पूरा भएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपालतर्फबाट नेपाल भारत संयुक्त पत्रकार मञ्चका संयोजक पूर्णलाल चुकेलगायत पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया