Listen LIVE

मानबबेचबिखनबिरुद्ध सचेतनाका लागि डजिटल बोर्ड स्थापना

नेपालगञ्ज : सुरक्षित आप्रवासन सम्बन्धी जानकारी दिनुका साथै मानब बेचबिखन तथा ओसारपसारबिरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले बर्दियाको जिल्ला प्रशासन कार्यालयमा डिजिटल बोर्ड स्थापना गरिएको छ ।

बर्दिया जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले रिबन काटेर उक्त बोर्डको औपचारिक उदघाटन गरेका थिए । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा सञ्चालित ‘सुरक्षा परियोजना’ अन्तर्गत जिल्ला प्रशासन कार्यालयको सहकार्यमा सो डिजिटल बोर्ड स्थापना गरिएको क्लबका उपनिर्देशक गोबिन्द लामिछानेले बताए । 

उदघाटन कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी कठायतले यस्तो सन्देशमूलक श्रव्य–दृश्य सामग्रीले सेवाग्राहीहरूलाई सुरक्षित आप्रवासन सम्बन्धी महत्वपूर्ण जानकारी दिनुका साथै मानब बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धिमा टेवा पुर्याउने बताए । 

साथै उनले बाँके युनेस्को क्लबद्वारा मानब बेचबिखन बिरुद्ध सञ्चालन गरिएका अभियानहरूको प्रशंसा गर्दै आगामी दिनमा जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सो कार्यक्रमको सञ्चालन बाँके युनेस्को क्लबका परियोजना संयोजक इश्वर विकले गरेका थिए भने कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बिमल गुरुङ, धनीराम शर्मा, कम्प्युटर अपरेटर विजय कुमार मल्ल, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

बाँके युनेस्को क्लबले ‘सुरक्षा परियोजना’ मार्फत बर्दियाका राजापुर र मधुवन नगरपालिका क्षेत्रलाई लक्षित गरी मानब बेचबिखन तथा ओसारपसारविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताए ।

प्रतिक्रिया